११.५६ सेकेन्डमै रुबिक्स क्युब मिलाउने चेरी


एजेन्सी ।

सामान्यतया एउटा ३×३×३ रुबिक्स क्युबका सबै रङहरू मिलाउन धेरै मानिसहरूलाई मिनेटौँ लाग्छ । कतिपयका लागि त यो कहिल्यै सुल्झन नसकिने गा¥हो पहेली बनिदिन्छ । तर, जब अद्भुत स्मरणशक्ति, तीक्ष्ण दिमाग र हातको द्रुत गति एकै ठाउँमा जोडिन्छ, तब असम्भव देखिने कार्य पनि सेकेन्डभरमै सम्भव हुन्छ । यसैको जीवन्त उदाहरण बनेका छन् अमेरिकाका २१ वर्षीय युवा टमी चेरी । उनले अमेरिकाको न्यु जर्सीमा आयोजित ‘मिड–एट्लान्टिक क्वाइट च्याम्पियनसिप २०२६’ मा ‘ब्लाइन्ड फोल्डेड’ अर्थात् आँखामा पट्टी बाँधेरमात्र ११.५६ सेकेन्डमा रुबिक्स क्युब मिलाउँदै गिनिज विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यसअघि अस्ट्रेलियाका चार्ली एगिन्सको नाममा रहेको ११.६७ सेकेन्डको रेकर्डलाई ०.११ सेकेन्डले सुधार्दै टमीले पुनः विश्वको ध्यान आफूतर्फ आकर्षित गरेका छन्।

‘३×३×३ ब्लाइन्ड फोल्डेड’ लाई रुबिक्स क्युबको दुनियाँमा सबैभन्दा चुनौतीपूर्ण र कठिन विधा मानिन्छ । यस विधामा प्रतियोगीले सुरुमा क्युबलाई केही सेकेन्ड राम्ररी हेरेर त्यसको सम्पूर्ण संरचना, कुना र रङहरूको स्थिति आफ्नो दिमागमा शतप्रतिशत कण्ठ गर्नुपर्छ । त्यसपछि आँखामा बाक्लो पट्टी बाँधिन्छ र केवल तीव्र स्मरणशक्ति तथा हातको चालको भरमा क्युब मिलाउनुपर्छ । टमीले सोही अद्भुत कला प्रदर्शन गर्दै ११.५६ सेकेन्डको छोटो समयभित्रै क्युबको रेखाचित्र सम्झिएर सही चालहरूमार्फत यो ऐतिहासिक सफलता हात पारेका हुन् । यस अकल्पनीय सफलतापछि खुसी व्यक्त गर्दै टमीले सन् २०२४ पछि यो आफ्नो पहिलो नयाँ विश्व रेकर्ड भएको र आफ्नो प्रदर्शन सुधार्न पाउँदा निकै उत्साहित भएको बताएका छन् ।

टमीको यो सफलता कुनै रातारात मिलेको जादु भने होइन । सन् २०१५ मा ११ वर्षको उमेरदेखि रुबिक्स क्युबको यात्रा सुरु गरेका उनले विगत एक दशकमा हजारौँ घण्टाको कडा परिश्रम र निरन्तर अभ्यास गरेका छन् । उनले पहिलो पटक सन् २०२१ मा १५.२७ सेकेन्डमा आँखा बाँधेर क्युब मिलाउँदै पहिलो विश्व रेकर्ड बनाएका थिए । त्यसयता आफ्नो क्षमतालाई निरन्तर तिखार्दै लगेका टमीको नाममा हालसम्म १५ वटा विश्व रेकर्डहरू दर्ता भइसकेका छन् । यतिमात्र होइन, उनी र अस्ट्रेलियाका चार्ली एगिन्सको नाममा १४.०५ सेकेन्डको ‘उत्कृष्ट औसत समय’ (फास्टेस्ट एभरेज टाइम) को संयुक्त विश्व रेकर्डसमेत छ । आफ्ना अनुभव र प्रतिभालाई फैलाउँदै हाल उनी अनलाइन कोचिङमार्फत विश्वभरका क्युब प्रेमीहरूलाई प्रशिक्षणसमेत दिइरहेका छन् । टमी चेरीको यो अद्वितीय उपलब्धिले मानिसको एकाग्रता र दृढ अभ्यासले जुनसुकै सीमालाई नाघ्न सक्छ भन्ने सन्देश दिएको छ ।