संघर्ष र सफलताको एउटा अध्याय- रवि लामिछाने

564
Shares

प्रिय रवि लामिछानेजी,

चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित हुनुभएकोमा ढिलै भए पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

कहिलेकाहीँ इतिहासले कुनै व्यक्तिलाई पदले होइन, उसले जीवनका आरोह–अवरोह, कठिन समय र चुनौतीहरुलाई कसरी सामना ग¥यो भन्ने आधारमा सम्झिन्छ । नेपालको समकालीन राजनीतिमा रवि लामिछाने त्यस्तै चर्चित पात्र हुन् । उनको जीवनको यात्रा केवल एक सञ्चारकर्मीबाट राजनीतिज्ञ बन्ने चाहना मात्र होइन, आशाका दीप जगाउने, संघर्षका पहाड छिचोल्ने, विवादको भुमरीलाई नियन्त्रण गर्न सक्ने निरन्तर परीक्षाको कथा पनि हो । कुनै मानिसको जीवनलाई केवल उसले प्राप्त गर्ने सफलताले मात्र महान् बनाउँदैन, उसले बोक्नुपरेका पीडाका भारी र ती पीडाका भारीले थिचिँदा पनि नझुकेको आत्मविश्वासले महान् बनाउँछ । तपाईंको राजनीतिक यात्रा त्यसैको एउटा सम्झनयोग्य उदाहरण बनेको छ ।

राज्यसत्तामा व्याप्त भ्रष्टाचार, बेथिती, विभेद र अन्यायका विरुद्ध पत्रकारिताको माध्यमबाट प्रश्न उठाउने एउटा आवाजबाट शुरु भएको तपाईंको जीवन संघर्षको यात्रा राजनीतिसम्म आइपुग्दा कति काँडाले भरिएको थियो भन्ने कुरा शायद इतिहासले एकदिन निष्पक्षरुपमा लेख्नेछ । जनताका समस्या, रोदन र पीडालाई कैद गर्दै उनीहरुको उद्धारका पक्षमा बोल्ने क्यामेरा छोडेर जनताकै बीच उभिन राजनीतिमा प्रवेश गर्ने जुन निर्णय गर्नुभयो, त्यो त्यति सजिलो भने पक्कै थिएन । त्यस निर्णयसँगै तपाईंप्रति प्रशंसा आयो, आलोचना आयो, आशा आयो र अविश्वास पनि आयो । नयाँ पार्टी खोल्नु आफैँमा चुनौतीपूर्ण थियो नै, पुराना दलहरुको दशकौं लामो संगठन, स्रोत र प्रभावका बीच नयाँ शक्तिलाई स्थापित गर्नु सहज पक्कै थिएन । तर जनविश्वास, समर्थक स्वयंसेवकहरुको उत्साहपूर्ण साथ र परिवर्तनको चाहनाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याउन सफल हुनुभयो । पार्टी स्थापना भएको ६ महिना पुग्दा नपुग्दै आएको निर्वाचनबाट पार्टीलाई राष्ट्रिय राजनीतिमा चौथो स्थानमा स्थापित गर्न सफल हुनुभयो । रास्वपा ठूलो राजनीतिक शक्तिका रुपमा उदय भयो र नेपाली राजनीतिमा नयाँ अध्याय शुरु ग¥यो ।

सफलताको यात्रा सधैँ सहज हुँदैन । निर्वाचनपछि नागरिकता, राहदानी र सहकारीसम्बन्धी विभिन्न कानुनी विवादहरु तपाईंका जीवनका बिर्सनै नसकिने कठिन मोडहरु बने । समर्थकहरुले यस्ता घटनालाई राजनीतिक प्रतिशोधका रुपमा व्याख्या गरे भने आलोचकहरुले कानुनी प्रक्रियाको विषय हो भने । यस्तै–यस्तै झमेला र विवाद, अदालती चक्कर, सार्वजनिक आलोचना र अन्ततः हिरासतको यात्रा तथा जेलको अनुभवले तपाईंको व्यक्तिगत र राजनीतिक जीवनलाई गहिरोरुपमा प्रभावित ग¥यो । तपाईंमाथिका आरोप, अदालती प्रक्रिया, अनुसन्धान, सार्वजनिक बहस र कठोर राजनीतिक आलोचनाले तपाईंको व्यक्तिगत तथा पारिवारिक जीवनलाई पनि असर ग¥यो । ती घटनाहरु सही थिए वा गलत, त्यसको मूल्यांकन कानुनीरुपमा हुने नै छ । तर कुनै पनि सार्वजनिक व्यक्तित्वका लागि त्यस्तो अवस्था भावनात्मकरुपमा कति कठिन हुन्छ भन्ने कुरा शब्दले सजिलै व्यक्त गर्न सकिँदैन ।

त्यही कठिन समयले तपाईंको भनाइलाई अझ अर्थपूर्ण बनायो– ‘हामी प्रतिशोधको राजनीति गर्दैनौं’, ‘हामीलाई हनिमुन पिरियड चाहिँदैन, दिन होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं’, ‘भाषणले मात्र पुग्दैन, अब सरकारको काम आफैँ बोल्नेछ’ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक चितवन महाधिवेशनमा सुशासन, पारदर्शिता, विधिको शासन, संस्थागत सुधार र नागरिक केन्द्रीत राज्य निर्माणमा प्रस्ट राजनीतिक तथा सैद्धान्तिक दृष्टिकोण अघि सारेको छ । महाधिवेशनले दस्तावेजीकरण गरेको त्यो वैचारिक दृष्टिकोण व्यवहारमा कति कार्यान्वयन हुन्छ भन्ने निर्णय भविष्यले गर्ने नै छ । तर ती लक्ष्यहरुले विशेष गरी युवा पुस्तामा राजनीतिप्रतिको वितृष्णाबाट आकर्षण, अविश्वासबाट विश्वास र असम्भवबाट सम्भव छ भन्ने कुरा प्रमाणित गराएको देखिन्छ । कुनै व्यक्तिको महानता उसको सफलताले मात्र नापिँदैन, संकटमा ऊ कति अडिग रह्यो भन्ने आत्मविश्वास र दृढताबाट पनि नापिन्छ । समर्थकहरुको दृष्टिमा रवि लामिछानेको राजनीतिक यात्रा यही कारण विशेष छ । उनीहरुका लागि यो रवि लामिछानेको एउटा उतार–चढावको कथा मात्र होइन, निरास हुँदै गएको युवा पुस्ताले खोजेको अवसर, सुशासन र सभ्य समाजका लागि गन्तव्य पुग्ने यात्राको प्रतीक बनेको छ ।

संघर्षको अर्को नाम राजनीति हो । राजनीति केवल सत्ता प्राप्त गर्ने दौड मात्र होइन, जनताको आशा, भरोसा र विश्वास जोगाउने परीक्षा पनि हो । भनिन्छ, विश्वास कमाउन वर्षौं लाग्छ, गुमाउन केही क्षण मात्र भए पर्याप्त हुन्छ । त्यसैले तपाईंको अगाडिको सबैभन्दा ठूलो जिम्मेवारी पद होइन, विश्वास र भरोसाको संरक्षण हो । आज तपाईंकै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्न सफल भयो, यो विजय केवल एउटा दलको मात्र होइन, नागरिकको आशा, सुशासनको चाहना र नयाँ राजनीतिक संस्कृतिको परीक्षणको पनि हो । आयातीत र गन्तव्यहीन विचारले अँध्यारोमै रुमल्लिएकाहरुको उज्यालोतर्फको यात्रा पनि हो । त्यसैले महानता कोर्ने कलमरुपी इतिहासलाई वर्तमानमा गर्ने इमानदारिता, जिम्मेवारी, निष्पक्षता र दूरदृष्टिरुपी मसी भर्दै तपाईंले सम्झिनुपर्ने कुरा सत्ता होइन, जनता र राष्ट्रप्रतिको जिम्मेवारी हो ।

त्यागको अर्थ अवसर त्याग्नु मात्र होइन, प्रतिशोधभन्दा विधिलाई, अहंकारभन्दा संवादलाई र व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय हितलाई माथि राख्नु वास्तवमै त्याग हो । नेपाललाई यस्तै असल राजनीतिक संस्कृति बोक्ने नेता र नेतालाई बोक्ने पार्टीको आवश्यकता छ । सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिक केन्द्रीत शासन भाषणमा होइन, व्यवहारमा देखियो भने मात्र भविष्यले त्यसलाई सम्मान गर्नेछ । नेपालका सबै नेताले एउटा कुरा सिक्न आवश्यक छ– नेतृत्व पदले होइन, चरित्रले ठूलो हुन्छ । राजनीतिक पार्टीहरुले एकले अर्कोलाई शत्रु होइन, राष्ट्र निर्माण र लोकतन्त्रको सहयात्री देख्न सक्नुपर्दछ । यस्तो उदारता नै असल राजनीतिको चिह्न हो, असल सामाजिक संस्कार र असल संस्कृतिको मूल हो । राजनीति प्रतिशोध साँध्ने माध्यम बनाइनुहुँदैन, आउँदो पुस्ताको भविष्य निर्माण गर्ने जिम्मेवार थलो बनाउनुपर्दछ ।

प्रिय रविजी,
भनिन्छ, न्यायालयले गर्ने फैसलाभन्दा समयले गर्ने फैसला अन्तिम हुनेछ । थाहा छैन, इतिहासले तपाईंलाई कसरी सम्झिनेछ ? तर यदि संघर्ष, साहस, आलोचना सहेर पनि आफ्नो विश्वासमा अडिग रहने क्षमता इतिहास लेख्ने मापदण्ड हो भने, रवि लामिछानेको नाम त्यो मापदण्डभित्र पर्दछ । असल राजनीति इमान र विश्वासको सागर हो, पद र प्रतिष्ठा त केवल क्षणिक हो, आउँछ–जान्छ । सबैभन्दा ठूलो कुरा जनविश्वास हो । त्यो विश्वास टिकिरहन्छ वा टुट्छ, त्यसको उत्तर भविष्यसँग मात्र छ । रवि लामिछाने एउटा व्यक्ति मात्र रहेन, परिवर्तनप्रतिको एउटा आशाको प्रतीक नै बन्यो । भविष्यले तपाईंको प्रशंसा गर्ला वा आलोचना ! तर तपाईंको त्यागको महानतालाई कदर गर्दै जनताले भन्नेछन्– ‘रवि लामिछाने आफ्ना लागि होइन, देशका लागि बाँचेको थियो ।’ त्यही दिन तपाईंको संघर्ष सफल हुनेछ । सफल कार्यकालका लागि हार्दिक शुभकामना ! साथै सबै राजनीतिक पार्टी र नेतृत्वमा पनि त्याग, सत्यनिष्ठा र जनसेवाको संस्कृति अझ बलियो बन्दै जाहोस् ।