साना किसान विकास लघुवित्तको २५ वर्ष : १० लाख किसान परिवारमा सेवा, ४६ अर्ब ९० करोड रुपैयाँ सहुलियत कर्जा


काठमाडौं ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा संस्थाले ग्रामीण अर्थतन्त्र सुदृढीकरण, कृषि व्यवसाय प्रवर्द्धन तथा गरिबी न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ।

संस्थाका अनुसार हाल देशका ७७ जिल्लाका ५४६ भन्दा बढी स्थानीय तहमा रहेका एक हजार ४८५ साझेदार सहकारी संस्थामार्फत करिब १० लाख किसान परिवारलाई लघुवित्त सेवा प्रदान भइरहेको छ। सेवाग्राहीमध्ये ८२ प्रतिशत महिला रहेका छन् भने ११ प्रतिशत दलित, ३९ प्रतिशत जनजाति र ५० प्रतिशत अन्य समुदायका सदस्य छन्।

संस्थाले नेपाल सरकारको सहकार्यमा सञ्चालन गर्दै आएको पशुपालन तथा तरकारी खेतीसम्बन्धी सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म तीन लाख ३४ हजार ७७ किसानलाई ४६ अर्ब ९० करोड ४५ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको जनाएको छ। उक्त कर्जाबाट १७ लाख ७९ हजारभन्दा बढी पशु पालन तथा ११ हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरिएको संस्थाको दाबी छ।

संस्थाका अनुसार यस कार्यक्रममार्फत वार्षिक रूपमा करिब ४ अर्ब ८० करोड रुपैयाँ बराबरको मासु, दुग्धजन्य पदार्थ तथा तरकारी उत्पादन हुँदै आएको छ भने हालसम्म कुल उत्पादनको मूल्य ७२ अर्ब रुपैयाँभन्दा बढी पुगेको अनुमान गरिएको छ।

लघुवित्तले ऋण सेवासँगै पशुधन सुरक्षण, कृषि वित्त तथा वित्तीय साक्षरता, क्षमता अभिवृद्धि, सुधारिएको चुलो कार्यक्रम, उद्यमशीलता विकास तथा युवालाई लक्षित विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। साथै आइएफएडी, सीप र समृद्धि तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) लगायतका निकायसँगको सहकार्यमा विभिन्न परियोजना कार्यान्वयन भइरहेको उल्लेख गरेको छ।

युवालाई आधुनिक कृषि प्रविधिमा दक्ष बनाउन इजरायलमा तालिम कार्यक्रम सञ्चालन गरिएको र हालसम्म तीन हजार १६१ युवाले तालिम पूरा गरेको संस्थाले जनाएको छ। यद्यपि, कोरोना महामारीपछि उक्त कार्यक्रम नियमित रूपमा सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ।

यस्तै, एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको सहकार्यमा सञ्चालित ग्रामीण उद्यम परियोजनाअन्तर्गत कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रित एक हजार २१६ वटा उद्यम सञ्चालनमा रहेका छन्। ती उद्यममा दुई अर्ब ८९ करोड ८४ लाख रुपैयाँभन्दा बढी लगानी भई १० हजार ७३७ जनाले रोजगारी प्राप्त गरेको संस्थाले जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले कृषि उत्पादन वृद्धि, साना किसानको आयस्तर सुधार तथा ग्रामीण अर्थतन्त्रको सुदृढीकरणका लागि साना किसान विकास अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।