धनगढीमा २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीका मागबारे सरकार र डा. केसी पक्षबीच आइतबार मध्यान्ह १२:३० बजेदेखि सुरु भएको वार्ता रातिसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन।
सरकारी वार्ता टोलीका सदस्य तथा स्वास्थ्य सचिव डा. विकास देवकोटाले वार्ता निरन्तर जारी रहेको जानकारी दिँदै छलफल सकारात्मक ढंगले अघि बढिरहेको बताए। यद्यपि वार्ता कुन बिन्दुमा पुगेको छ वा सहमति नजिक पुगेको छ भन्नेबारे उनले कुनै टिप्पणी गरेनन्।
डा. केसी पक्षका वार्ता टोली सदस्य डा. अमृत जैसीले पनि दुवै पक्षबीच छलफल जारी रहेको पुष्टि गरे। “हामी अहिले पनि वार्तामै छौं। विभिन्न विषयमा छलफल भइरहेको छ,” उनले भने।
सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडेल वार्तामा सहभागी छन्। डा. केसीका तर्फबाट डा. अमृत जैसीसहितको टोली वार्तामा बसेको छ।
वार्ता सुरु हुँदा खिचिएको तस्वीरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद पुकार बम पनि देखिएका थिए। उनी डा. केसी पक्षको तर्फबाट छलफलमा सहभागी हुन पुगेको स्रोतले जनाएको छ।
यद्यपि डा. केसीले पाँच बुँदे माग अघि सारेका छन्, वार्ताको मुख्य केन्द्रबिन्दु भने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति बनेको छ।
डा. केसीले ती पदाधिकारीहरूको नियुक्ति बदर गर्नुपर्ने माग राख्दै आएका छन्। तर सरकारले भने खुला प्रतिस्पर्धा र कानुनी प्रक्रिया पूरा गरेर नियुक्ति गरिएको भन्दै त्यसलाई बदर गर्नु उपयुक्त नहुने अडान लिएको स्रोतहरू बताउँछन्।
खुला प्रतिस्पर्धाबाट सम्पन्न नियुक्ति रद्द गरिए त्यसले प्रशासनिक र कानुनी प्रश्न उठाउन सक्ने भएकाले सरकार निर्णयमा सावधानी अपनाउने अवस्थामा देखिएको छ। यही विषय वार्ताको सबैभन्दा जटिल एजेन्डाका रूपमा रहेको बताइएको छ।
वार्ताको अन्तिम निष्कर्ष सार्वजनिक नभएसम्म डा. केसीको सत्याग्रह जारी रहनेछ। दुवै पक्षले वार्ता सकारात्मक वातावरणमा भइरहेको जनाए पनि सहमति कहिले जुट्ने भन्नेबारे कुनै समयसीमा दिएका छैनन्।











प्रतिक्रिया