काठमाडौं ।
दया फाउन्डेसनले नेपाली मौलिक संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘ए तपेस्ट्री अफ नेपाली कल्चर एण्ड हेरिटेज’ शीर्षकको विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. केदार भक्त माथेमा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा संस्कृति, शिक्षा, पर्यटन, साहित्य, संगीत तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा परम्परागत धिमे बाजासहित अतिथिको स्वागत, कुमारी नृत्य, विभिन्न जातीय सांस्कृतिक पोशाक प्रदर्शन, स्वर्गीय दयाराम भक्त माथेमाका कवितामा आधारित सांगीतिक प्रस्तुति, पौभा तथा समकालीन छ्वाली कलाको परिचय प्रस्तुत गरिएको थियो। साथै, युवाहरूको सांस्कृतिक सहभागिता र नेवारी संस्कारसम्बन्धी मौलिक नेवारी भाषाको पुस्तक पनि विमोचन गरिएको थियो।
यस अवसरमा नेपाली संस्कृति संरक्षणमा योगदान पुर्याएका कलाकार, सांस्कृतिक अभियन्ता तथा युवा प्रतिभाहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।

दया फाउन्डेसनले कार्यक्रममार्फत नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि युवा सहभागिता, शिक्षा, अनुसन्धान र सामुदायिक सहकार्यलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, कलाकार, सहभागी, स्वयंसेवक, साझेदार संस्था, सञ्चारकर्मी तथा शुभेच्छुकहरूप्रति फाउन्डेसनले आभार व्यक्त गरेको छ।











प्रतिक्रिया