चितवन ।
चितवनमा जंगली हात्तीको आक्रमणमा परी आमा–छोराको मृत्यु भएको छ। शनिबार राति भरतपुर महानगरपालिका–२३ बेलहट्टास्थित पूर्ण बोटेको घरमा पसेको जंगली हात्तीले आक्रमण गर्दा उनकी श्रीमती २५ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति करिब ११ बजे घरमै सुतिरहेका बेला हात्तीले आक्रमण गरेको थियो। हात्ती धपाउने प्रयासमा पूर्ण बोटेले आगो बाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनापछि शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाबीच छलफल भएको थियो। छलफलमा नयाँ गोरखा गण, वडा नं. २३ कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरू सहभागी भएका थिए।
वडा अध्यक्ष दीपक दवाडीका अनुसार छलफलपछि निकुञ्जसँग चारबुँदे सहमति भएको छ। सहमतिअनुसार आक्रमणमा संलग्न हात्तीलाई तत्काल नियन्त्रणका लागि आवश्यक पहल गर्ने, मृतक परिवारलाई चितवन राष्ट्रिय निकुञ्जमार्फत शीघ्र राहत उपलब्ध गराउने, मृतकको घर पुनर्निर्माण गरिदिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक उपाय तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
स्थानीयवासीले जंगली हात्तीको बढ्दो जोखिम नियन्त्रणका लागि दीर्घकालीन तथा प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।











प्रतिक्रिया