काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पलापु खानेपानी लिफ्ट आयोजनाको १८ लाख ५० हजार रुपैयाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा आयोगले बिहीवार विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो । मुद्दा दायर गरिएकाहरूमा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी र शिरीष कन्स्ट्रक्सनका सञ्चालक प्रकाश छिरिङ राई रहेका छन् ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा चम्पादेवी गाउँपालिकाको वडा नं. १ र २ मा सञ्चालन हुने बृहत् पलापु लिफ्ट खानेपानी योजनाका लागि २ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको थियो । ठेक्का प्रक्रिया पूरा भएपछि शिरीष कन्स्ट्रक्सनसँग करिब १ करोड ५६ लाख २९ हजार रुपैयाँमा सम्झौता भएको थियो । सो कम्पनीले १८ लाख ५० हजार रुपैयाँ बराबरको कार्यसम्पादन जमानत (बैंक ग्यारेन्टी) पेस गरेको थियो । तर कम्पनीले सन्तोषजनक रूपमा काम नगरेपछि गाउँ कार्यपालिकाले सात दिनभित्र काममा सुधार नगरे ठेक्का सम्झौता रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सो निर्णय कार्यान्वयन नगरी बदनियतपूर्वक लुकाइएको, बैंक ग्यारेन्टीको म्याद सकिन दिइएको र म्याद समाप्त भएपछि मात्र ठेक्का अन्त्य तथा बैंकलाई जमानत रकम जफतका लागि पत्राचार गरिएको खुलेको जनाएको छ ।
नियतवश म्याद गुजारेर सरकारी सम्पत्ति हानि–नोक्सानी पु¥याएको ठहर गर्दै अख्तियारले दुवै प्रतिवादीसँग जनही १८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजाय माग गरिएको अख्तियारले जनाएको छ । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदी, शिरीष कन्स्ट्रक्सनका सञ्चालक प्रकाश छिरिङ राईलगायतले आपसी मिलेमतोमा सार्वजनिक संस्थालाई हानि र आफूलाई लाभ हुने गरी काम गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया