भारतमा कारको ठक्करबाट दुई नेपाली युवकको मृत्यु


काठमाडौँ।

भारतमा कारको ठक्करबाट दुई जना नेपाली युवकको मृत्यु भएको छ।

उत्तराखण्ड राज्यस्थित उधमसिंह नगरको नानकमत्ता क्षेत्रअन्तर्गत बिडोरा–मझोला मार्गमा भारतीय कारले ठक्कर दिँदा दुई नेपालीको मृत्यु भएको हो।

मृत्यु हुनेमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का राहुल चदारो र दोधारा चाँदनी नगरपालिका–९ का कमल खड्का छन्।

उनीहरू दुवै जना मोटरसाइकलमा भारतको राजधानी दिल्लीबाट घर फर्कंदै थिए। भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार शुक्रबार तीव्र गतिमा रहेको कार र मोटरसाइकल एकआपसमा ठोकिएका थिए।

दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्र सितारगंज लगिएको थियो। गम्भीर घाइते दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए। शव अस्पतालमा राखिएको छ। मृतक युवकका आफन्त शव बुझ्न शनिबार भारत जाँदै छन्। मृतकका आफन्तसहित अहिले त्यहाँ जाने तयारी भइरहेको छ। पोस्टमार्टमपछि शनिबार नै शव ल्याइने दोधारा चाँदनी नगरपालिका–८ का अध्यक्ष ओमप्रकाश रोकायाले बताए।