जापानमा हुने एसियाडमा नेपालको २३ खेलमा सहभागिता


काठमाडौं ।

जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ खेलमा सहभागिता जनाउने पक्का भएको छ ।
नेपाल इन एसियन गेम्स अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव राम चरित्र मेहताले २३ खेलको सहभागिता रहने जानकारी दिएका हुन् । विश्व खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मन्चले सो अन्तरक्रिया आयोजना गरेको थियो ।
मेहताले कार्यक्रममा भने, ’खेल संख्या २३ खेलको निश्चित भइसकेको छ । खेलाडीको हकमा अझै केही मिलाउन बाँकी छ । १ सय ४१ खेलाडी जति हुने सक्ने सम्भावना छ ।’

मेहताले सरकारले एसियाडको तयारीमा २ करोड ८० लाख रुपैयाँ तथा सहभागिताको लागि ११ करोड २० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । २३ खेलबाट खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरि १ सय ९४ को सहभागिता गराउने राखेपमा सहमति भएको हाम्रो खेलकुदले यसअघि नै प्रकाशित गरेको थियो ।

यो पटक गत संस्करण ऐतिहासिक पदक जितेका कराते र महिला कबड्डीसहित कुस्ती, उसु, पुरुष क्रिकेट, एथलेटिक्स, जुडो, महिला भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, साइक्लिङ, इस्पोर्टस, गल्फ, राफ्टिङ एण्ड क्यानोइङ, पौडी, स्क्वास, सफ्ट टेनिस, स्केट एण्ड स्केट बोर्डिङ, टेबल टेनिस, आर्चरी, बक्सिङ र टेनिस खेलका खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।