काठमाडौं।
नेपाल मेडिकल काउन्सिलले स्नातकोत्तर (पोस्ट ग्राजुएट–पीजी) तह उत्तीर्ण गरेका चिकित्सकका लागि सञ्चालन गरिएको विशेष परीक्षा (स्पेशल एक्जाम)को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष परीक्षामा सहभागीमध्ये ९३.५७ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।
काउन्सिलका अनुसार परीक्षाका लागि १ हजार १३ जना चिकित्सकले आवेदन दिएका थिए। तीमध्ये एक जना अनुपस्थित भएपछि १ हजार १२ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ९४७ जना उत्तीर्ण भएका छन्। परीक्षामा ३६ वटा विभिन्न विषयका परीक्षार्थी सहभागी थिए।
काउन्सिल सदस्य तथा परीक्षा समिति संयोजक डा. नीना राईका अनुसार यस वर्षको उत्तीर्ण प्रतिशत गत वर्षको सोही अवधिमा सञ्चालन गरिएको विशेष परीक्षाभन्दा करिब २ प्रतिशत बढी हो। गत वर्षको परीक्षामा ९१ प्रतिशतभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका थिए।
डा. राईले यस पटकको नतिजा राम्रो आउनुको मुख्य कारण नेपालमै अध्ययन पूरा गरी हालै स्नातकोत्तर तह उत्तीर्ण भएका ‘फ्रेस’ चिकित्सकको उच्च सहभागिता रहेको बताइन्।
उनले भनिन्, “यो सिजनमा सञ्चालन हुने विशेष परीक्षाको नतिजा प्रायः राम्रो हुने गर्छ। गत वर्षको तुलनामा यस वर्ष करिब दुई प्रतिशतले उत्तीर्ण दर बढेको छ। यसपटक ९० प्रतिशतभन्दा बढी परीक्षार्थी त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबाट हालै स्नातकोत्तर तह उत्तीर्ण भएका चिकित्सक थिए, जसले नतिजा सुधारमा योगदान पुगेको हो।”
विशेष परीक्षा कम्प्युटरमा आधारित (Computer-Based Test) प्रणालीमार्फत नेपाल इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) मा सञ्चालन गरिएको थियो।
नेपाल मेडिकल काउन्सिलले पीजी तह उत्तीर्ण चिकित्सकलाई विशेषज्ञका रूपमा दर्ता गर्नुअघि अनिवार्य रूपमा यो विशेष परीक्षा सञ्चालन गर्दै आएको छ। यस परीक्षामा सफल भएका चिकित्सकले सम्बन्धित विशेषज्ञतामा काउन्सिलमा दर्ता प्रक्रिया अघि बढाउन पाउनेछन्।











प्रतिक्रिया