काठमाडौं।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले धनगढीमा आमरण अनशनरत चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता डा. गोविन्द केसीका मागप्रति सरकार सकारात्मक रहेको बताएका छन्।
शुक्रबार साँझ मन्त्री पोखरेलले डा. केसीका सहयोगी डा. अमृत जैसीसँग टेलिफोन संवाद गर्दै सरकार औपचारिक वार्ताका लागि तयार रहेको र छिट्टै वार्ता टोली गठन गरिने जानकारी दिएका हुन्। डा. केसीसँग प्रत्यक्ष संवाद गर्ने प्रयास गरिए पनि उनी आराम गरिरहेका कारण कुराकानी हुन नसकेको मन्त्रीले बताएका थिए।
डा. जैसीका अनुसार मन्त्री पोखरेलले मन्त्रालयले डा. केसीले अघि सारेका मागहरूको अध्ययन गरिरहेको जानकारी दिएका थिए। त्यसक्रममा उनले डा. केसीका पाँचबुँदे मागमध्ये शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत ३०० शय्याको अस्पताल सञ्चालन, चालु शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा सुरु गर्ने तथा स्वार्थप्रेरित नियुक्ति खारेज गर्ने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताएका थिए।
डा. गोविन्द केसी बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा २४औँ सत्याग्रहअन्तर्गत आमरण अनशनमा छन्।
उनका पाँचबुँदे मागमा चिकित्सा शिक्षा आयोगका विवादित नियुक्ति खारेज, छात्रवृत्ति कटौती तथा सिट वृद्धि सम्बन्धी निर्णय फिर्ता, चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन, सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य तथा चिकित्सा शिक्षा पूर्वाधार विस्तार, तथा गम्भीर अपराध र भ्रष्टाचारका घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने विषय समावेश छन्।
सरकारले वार्तामार्फत समस्या समाधान गर्ने संकेत दिएसँगै डा. केसीको सत्याग्रहको निकासबारे चासो बढेको छ। वार्ता टोली गठन र त्यसपछिको संवादले आन्दोलनको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया