काठमाडौं ।
नेपाली औषधी बजारमा पछिल्लो समय नक्कली तथा झुटो विवरण भएका औषधीको बिक्री–वितरण बढेको र फिर्ता गरिएका औषधीसमेत बजारबाट न्यून परिमाणमा मात्र फिर्ता हुन थालेपछि औषधी व्यवस्था विभागले औषधी आपूर्ति शृङ्खला व्यवस्थित बनाउन ६ बुँदे निर्देशन जारी गरेको छ ।
विभागका निमित्त महानिर्देशक शिवानी खड्गीद्वारा जारी सूचनामा काउन्टरफिट तथा फल्सिफाइड औषधीको प्रयोगले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भएकाले औषधी बिक्रीवितरण संहिता, २०८० को मर्मअनुसार सम्पूर्ण उत्पादक, पैठारीकर्ता, थोक तथा खुद्रा विक्रेताले अनिवार्य रूपमा निर्देशन कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ ।
निर्देशनअनुसार अब सबै स्वदेशी औषधी उत्पादक तथा पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ । साथै, आधिकारिक थोक विक्रेताको अद्यावधिक सूची आफ्नै वेबसाइटमा प्रकाशित गर्नुका साथै विभागको आधिकारिक पोर्टलमा समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
अस्पताल, स्वास्थ्य संस्था तथा अन्य संस्थागत खरिदका लागि आपूर्ति गरिने औषधीको प्याकेजमा ‘संस्थागत आपूर्तिका लागि मात्र’ भन्ने स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने र त्यस्ता औषधी खुद्रा बिक्रीका लागि प्रयोग गर्न नपाइने विभागले जनाएको छ ।
त्यसैगरी, थोक विक्रेताले विभागमा दर्ता भएका खुद्रा औषधी पसल, सरकारी स्वास्थ्य संस्था, अस्पताल तथा कानुनबमोजिम दर्ता भएका अन्य संस्थालाई मात्र औषधी बिक्री–वितरण गर्न पाउनेछन् । अनधिकृत व्यक्ति वा संस्थालाई औषधी बिक्री गर्न पूर्णरूपमा रोक लगाइएको छ ।
खुद्रा औषधी विक्रेताले पनि उत्पादक वा पैठारीकर्ताले आधिकारिक रूपमा तोकेका थोक विक्रेताबाट मात्र औषधी खरिद गर्नुपर्नेछ । खरिद गर्दा थोक विक्रेताको नाम, विभागमा दर्ता नम्बर तथा खरिद बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ । विभागले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि थोक विक्रेताले बिक्री–वितरण प्रमाणपत्र नवीकरण गर्दा उत्पादक वा पैठारीकर्तासँग भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थासमेत लागू गरेको छ ।
विभागका अनुसार यी व्यवस्थाले औषधीको आपूर्ति शृंखलालाई थप पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउने, नक्कली तथा गुणस्तरहीन औषधीको कारोबार नियन्त्रण गर्ने तथा जनस्वास्थ्यको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया