बलिउड अभिनेत्री रिया चक्रवर्ती आज आफ्नो ३४ औँ जन्मदिन मनाइरहेकी छन्। अभिनय यात्रामा सफलताको खोजी गरिरहेकी रियाको जीवन सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि एकाएक विवाद कानुनी झमेला र सार्वजनिक आलोचनाको केन्द्र बन्यो।
रियाले आफ्नो करिअरको सुरुवात टेलिभिजन प्रस्तोताका रूपमा गरेकी थिइन्। त्यसपछि उनले तेलुगु फिल्म ‘टुनेगा टुनेगा’ मार्फत अभिनयमा डेब्यु गरिन् भने हिन्दी फिल्म ‘मेरे ड्याड की मारुति’ ‘सोनाली केबल’ ‘बैंक चोर’ र ‘जलेबी’ जस्ता चलचित्रमा अभिनय गरिन्।
सन् २०१९ मा रिया र अभिनेता सुशान्त सिंह राजपूतबीच प्रेम सम्बन्ध सुरु भएको थियो। तर जुन १४ २०२० मा सुशान्तको निधन भएपछि रिया अभूतपूर्व विवादमा तानिइन्। उनीमाथि विभिन्न आरोप लागे सामाजिक सञ्जालमा व्यापक ट्रोलिङ भयो र लागूऔषध सम्बन्धी मुद्दामा केही समय जेलसमेत बस्नुपरेको थियो।
पछि विभिन्न अनुसन्धान र कानुनी प्रक्रियापछि रियाले राहत पाइन्। केन्द्रीय अनुसन्धान ब्युरोले सुशान्तको मृत्युमा कुनै आपराधिक संलग्नताको प्रमाण नपाएको जनाएको थियो।
हालैका अन्तर्वार्ताहरूमा रियाले त्यस घटनापछि आफू र आफ्नो परिवारले गहिरो मानसिक आघात भोग्नुपरेको बताएकी छन्। उनले लामो समयसम्म अभिनयका अवसर नपाएको थेरापीको सहारा लिनुपरेको र जीवनलाई फेरि नयाँ ढंगले अघि बढाउन संघर्ष गर्नुपरेको खुलासा गरेकी छन्।
कठिन समय पार गरेपछि रिया अहिले पुनः अभिनय क्षेत्रमा सक्रिय बन्ने तयारीमा छिन्। निर्देशक हंसल मेहताको नयाँ सिरिज ‘फ्यामिली बिजनेस’ मार्फत उनी लामो अन्तरालपछि पर्दामा फर्किंदै छिन्। उनको कमब्याकलाई दर्शक र समर्थकहरूले सकारात्मक रूपमा स्वागत गरेका छन्।
विवाद आलोचना र व्यक्तिगत पीडाबीच पनि रियाले हार नमानी आफ्नो करिअर पुनर्निर्माण गर्ने प्रयास जारी राखेकी छन्। यही संघर्ष र पुनरागमनको कथाले उनलाई बलिउडकी चर्चित तथा चर्चामा रहने अभिनेत्रीमध्ये एक बनाएको छ।











प्रतिक्रिया