मिस नेवाः सुन्दरीहरूद्वारा लाख बत्ती प्रज्वलन गर्दै विश्व शान्तिको कामना


१९औँ मिस नेवाः नेपाल ११४६ का २१ जना प्रतियोगीको उज्ज्वल भविष्य, सफल जीवनयात्रा तथा विश्वमा सुख, शान्ति, समृद्धि र सद्भावको कामनासहित राजधानीको वसन्तपुरस्थित कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन गरिएको छ।

नेप्लिज फेसन होमको आयोजनामा राजधानीमा हुन लागेको नेवार समुदायका युवतीहरूको सौन्दर्य प्रतियोगिताअन्तर्गत आयोजित उक्त कार्यक्रममा प्रतियोगीहरूको व्यक्तिगत सफलतास“गै सम्पूर्ण मानव समुदायमा सकारात्मक ऊर्जा, सहअस्तित्व र मानवीय मूल्यहरूको प्रवद्र्धन होस् भन्ने उद्देश्यले दीप प्रज्वलन गरिएको आयोजकले जनाएका छन्।

आध्यात्मिक आस्था र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्पन्न कार्यक्रममा २१ प्रतियोगी, उनीहरूका अभिभावक, पूर्व मिस नेवाः नेपाल प्रलिशा शाक्य, सकिना महर्जन र कृषा महर्जन, मिस नेवाः सोसियल वेल्फेयर एम्बासडर तिमिला महर्जन, संस्थाका सल्लाहकार डा. विमला शाक्य तथा फाइट फर लाइफ नेपालका सदस्यहरू सहभागी थिए।

दीप प्रज्वलनका क्रममा सहभागीहरूले विश्वभर शान्ति, सद्भाव, सहअस्तित्व र मानवीय मूल्यको प्रवद्र्धनका लागि सामूहिक प्रार्थना गरेका थिए। आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः नेपाललाई सौन्दर्य र प्रतिभाको प्रतिस्पर्धामा मात्र सीमित नभई नेवाः समुदायको भाषा, संस्कृति, संस्कार, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढाइएको बताइन्।