नेपाल प्रहरीमा ३६८ लेखा प्रमुखको एकैपटक सरुवा, आर्थिक सुशासन सुदृढ बनाउन व्यापक जिम्मेवारी हेरफेर


काठमाडौं ।

नेपाल प्रहरी प्रधान कार्यालयले संगठनभित्र आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र प्रशासनिक चुस्तता अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यरत ३ सय ६८ जना लेखा प्रमुखको एकैपटक सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसका आधारमा सरुवा सूची सार्वजनिक गरिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार तोकिएको अवधि पूरा गरेका लेखा प्रमुखहरूलाई अन्य जिम्मेवारीमा खटाइएको छ भने आवश्यक मापदण्ड पूरा गरेका प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि प्रहरी सहायक निरीक्षक (असई)सम्मका अधिकृतहरूलाई नयाँ लेखा प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक कारोबारसँग प्रत्यक्ष सम्बन्धित जिम्मेवारीमा रहेका अधिकारीहरूको आवधिक सरुवा संगठनको नियमित प्रक्रिया हो। आन्तरिक लेखापरीक्षण शाखाको प्रतिवेदन, कार्यसम्पादन मूल्यांकन तथा प्रशासनिक आवश्यकताका आधारमा गरिएको यसपटकको व्यापक सरुवाले प्रहरी संगठनभित्र आर्थिक सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

https://drive.google.com/file/d/1IKcid_u3xIBDKQxfH-Io69PI201spBmo/view?usp=sharing