ब्राजिलविरुद्ध जापान


(असार १५ गते सोमवार बिहान १० :४५ बजे)
समूह चरणमा दुई लगातार जितका साथ सेलेकाओ उपनाम पाएको ब्राजिली टिममा आत्मविश्वास भरिएको छ । ब्राजिलले हाइटी र स्कटल्यान्डलाई समान ३–० ले हराएको हो । पहिलो खेलमा मोरक्कोसँग १–१ बराबरी खेल्दा भने ब्राजिलको क्षमतामाथि शंका उत्पन्न भएको थियो ।

तर, यसपछिका खेलमा जित हासिल गरेपछि भने ब्राजिलले ती शंकालाई मेटेको छ । एसियाली फुटबलमा वर्चस्व जमाएको जापानले भने समूह चरणमा एक खेलमात्रै जित्न सकेको थियो । जापानले पहिलो खेलमा नेदरल्यान्ड्सजस्तो सशक्त टिमलाई दुईपटक पछि परेर पनि बराबरीमा रोकेको थियो । यसपछि जापानले ट्युनिसियामाथि ४–० को जित निकाल्दै आफूलाई बलियो महसुस गरायो । समूहको अन्तिम खेलमा भने जापानले स्विडेनसँग बराबरी खेल्यो । यसले जापानलाई लगातार १० खेलमा अपराजित बनायो पनि । यो आधारमा जापानले स्तब्ध नतिजा निकाल्ने सक्ने देखाएको छ ।

हेड टु हेड
ब्राजिल र जापानबीच अहिलेसम्म १४ खेलमा एकअर्कासँग खेलेका छन् । सेलेकाओले ब्ल्यू समुराईलाई ११ खेलमा हराएको छ भने जापानले एक खेलमा जित हासिल गरेको छ । दुई खेल भने ड्र भएको छ । विश्वकपमा यी दुई टोलीबीच दोस्रोपटक भेट हुनेछ ।

पछिल्लोपटक २००६ को विश्वकपमा समूह चरणमा ब्राजिलले जापानलाई ४–१ ले हराएको थियो । तर, गत १४ अक्टोबर २०२५ मा जापानले टोक्योमा ब्राजिलमाथि ऐतिहासिक जित निकालेको थियो । उक्त मैत्री खेलमा जापानले पाँचपटकको विश्व च्याम्पियनलाई ३–२ ले हराएको थियो ।