धुलिखेल–खावा सडकखण्डमा १५ दिन राति सवारी आवागमन बन्द


काठमाडौं ।

स्तरोन्नतिका क्रममा रहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा असार २२ गतेदेखि साउन ४ गतेसम्म राति सवारी आवागमनमा रोक लगाइने भएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार टिपर र ठूला मालवाहक ट्रकलाई पूर्ण रूपमा प्रवेश निषेध गरिएको छ भने अन्य यात्रुवाहक तथा मालवाहक सवारीलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइनेछ। एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारी भने पूर्ववत् सञ्चालन हुनेछन्।

सडक कालोपत्रे कार्यलाई तीव्रता दिन यस्तो व्यवस्था गरिएको हो भने यात्रु तथा सवारी चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।