बाँकेमा अवैध कुखुरा आयातका कारण बर्डफ्लु जोखिम उच्च, कडा निगरानीको माग


काठमाडौं । 

बाँके जिल्लामा भारतबाट कुखुरा, चल्ला र अण्डाको अवैध आयात नियन्त्रण नहुँदा बर्डफ्लु फैलिने उच्च जोखिम देखिएको सरोकारवालाले बताएका छन्। प्रतिबन्ध भए पनि सीमा क्षेत्रबाट लुकीछिपी हुने तस्करीका कारण रोग भित्रिन सक्ने खतरा बढेको उनीहरूको भनाइ छ।

नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ ले मुख्य तथा खुला सीमा नाकामा कडाइ नगरे बर्डफ्लु छिट्टै फैलिन सक्ने चेतावनी दिँदै निगरानी कडा बनाउन आग्रह गर्नुभयो।

नेपालगन्जका नागरिक अगुवा हेमन्तराज काफ्ले ले नेपालका ११ जिल्लामा बर्डफ्लु देखिसकेको अवस्थामा बाँके थप जोखिममा रहेको भन्दै तत्काल सतर्कता आवश्यक रहेको बताउनुभयो।

कुखुरापालक व्यवसायीहरूले पनि अवैध आयात नरोकिए बर्डफ्लु भित्रिने र व्यवसाय तथा मानव स्वास्थ्य दुवैमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्। रजा ग्रुपका सञ्चालक मुख्तार राई ले ठूलो लगानी जोखिममा पर्ने बताउनुभयो भने कादरी पोल्ट्री फार्मका सञ्चालक मुनिजर खान ले कडा नियन्त्रण अपरिहार्य रहेको धारणा राख्नुभयो।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ ले सीमा क्षेत्रमा सुरक्षा निकाय र क्वारेन्टाइनलाई अवैध आयात रोक्न कडा निर्देशन दिइएको र निगरानी थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो।