जित–हारभन्दा पार्टीको एकता महत्त्वपूर्ण : रवि लामिछाने


चितवन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाधिवेशनको आन्तरिक निर्वाचनलाई जित–हारको दृष्टिकोणबाट नहेर्न आग्रह गरेका छन्।
पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतान्त्रिक अभ्यासबाट सिङ्गो पार्टी विजयी भएको बताए। उनले आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई अझ सुदृढ, परिपक्व र एकताबद्ध बनाएको उल्लेख गरे।

‘यो निर्वाचनमा कसैको हार भएको छैन, सिङ्गो रास्वपाले जितेको छ,’ उनले भने, ‘लोकतान्त्रिक अभ्यासमा मतको अन्तर हुनु स्वाभाविक प्रक्रिया हो। यसले कुनै पनि नेताको क्षमता, योगदान वा प्रतिबद्धतालाई कमजोर बनाउँदैन।’

उनले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै नेताहरूको अनुभव, क्षमता र योगदानलाई पार्टी निर्माणमा उचित रूपमा उपयोग गरिने विश्वास व्यक्त गरे।

सभापति लामिछानेले अब सबै नेता–कार्यकर्ता एउटै उद्देश्यका साथ एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै जनताको अपेक्षा पूरा गर्न आन्तरिक मतभेद र मनमुटाव अन्त्य गरी साझा लक्ष्यका साथ काम गर्नुपर्ने बताए।

‘अब हामी एउटै घण्टीमुनि गोलबद्ध भएर देश निर्माणको महाअभियानमा जुट्नुपर्छ,’ उनले भने, ‘जनताले हामीमाथि ठूलो भरोसा गरेका छन्। त्यसैले व्यक्तिगत असन्तुष्टि र तिक्तता बिर्सेर एकढिक्का भएर अघि बढ्नु आजको आवश्यकता हो।’