रास्वपाको ‘हाइ कमाण्ड’मा चितवनका तीन सांसद

752
Shares

चितवन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट पार्टीको शीर्ष नेतृत्वमा चितवनबाट निर्वाचित तीन सांसदको प्रभावशाली उपस्थिति स्थापित भएको छ। महाधिवेशनले सभापति, उपसभापति र सहमहामन्त्रीजस्ता महत्त्वपूर्ण पदमा चितवनका सांसदलाई निर्वाचित गरेसँगै पार्टीको निर्णय तहमा चितवनको प्रभाव थप बलियो बनेको छ।

महाधिवेशनले पार्टीका संस्थापक तथा चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई सर्वसम्मत रूपमा पुनः सभापतिमा चयन गरेको हो। लामिछाने रास्वपाको स्थापना कालदेखि नै पार्टीको नेतृत्वमा रहँदै आएका छन्। राजनीतिक उतारचढाव र विभिन्न चुनौतीबीच पनि प्रतिनिधिहरूले उहाँप्रति पुनः विश्वास व्यक्त गर्दै दोस्रो कार्यकालका लागि नेतृत्व सुम्पिएका हुन्।

यसैगरी, चितवन–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतम महिला उपसभापतिमा विजयी हुनुभएको छ। प्रतिस्पर्धात्मक निर्वाचनमा उहाँले अर्की सांसद तोसिमा कार्कीलाई पराजित गर्दै उपसभापतिको जिम्मेवारी प्राप्त गर्नुभएको हो। युवा पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिमा सक्रिय रहँदै आएकी गौतमको विजयलाई रास्वपाभित्र नयाँ पुस्ताको नेतृत्वप्रतिको विश्वासका रूपमा पनि हेरिएको छ।

त्यस्तै, चितवन–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरी ढकाल खुला सहमहामन्त्री पदमा निर्वाचित हुनुभएको छ। पार्टी संगठन विस्तार, जनसम्पर्क र संसदीय गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका ढकालले महाधिवेशनमा प्रतिनिधिहरूको उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको हो। उहाँसँगै असिम शाह पनि खुला सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

महाधिवेशनबाट सभापति, उपसभापति र सहमहामन्त्री गरी तीन महत्त्वपूर्ण पदमा चितवनका सांसद निर्वाचित भएपछि रास्वपाको केन्द्रीय नेतृत्वमा चितवनको प्रभाव अझ सुदृढ भएको छ। प्रतिनिधिसभामा चितवनका तीनवटै निर्वाचन क्षेत्रबाट विजयी रास्वपा सांसद अहिले पार्टीको शीर्ष निर्णय तहमा समेत स्थापित भएका छन्।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी संगठन विस्तार, नीति निर्माण र राजनीतिक रणनीतिलाई अघि बढाउने जिम्मेवारी पनि यही नेतृत्वलाई दिएको छ। शीर्ष नेतृत्वमा चितवनका सांसदहरूको बलियो उपस्थिति रहेकाले आगामी दिनमा पार्टीको संगठनात्मक गतिविधि, संसदीय भूमिका र राजनीतिक निर्णय प्रक्रियामा चितवनको प्रभाव उल्लेखनीय रहने अपेक्षा गरिएको छ।