१२ जना प्रतिनिधिले मतदान गर्न नपाएपछि महाधिवेशन स्थलमै बसे धर्ना

846
Shares

चितवन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान समय सकिएपछि पुगेका १२ जना प्रतिनिधिले मतदान गर्न नपाएपछि महाधिवेशनस्थलमै धर्ना दिएका छन्।

निर्धारित समयभन्दा करिब दुई मिनेट ढिला पुगेका उनीहरूले आफूहरूलाई मतदानको अवसरबाट वञ्चित गरिएको भन्दै विरोध जनाएका हुन्। प्रतिनिधिहरूले मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै निर्वाचन समितिविरुद्ध नाराबाजीसमेत गरेका छन्।

निर्वाचन समितिले भने तोकिएको समयभित्र मतदानस्थलमा प्रवेश गरेका प्रतिनिधिलाई मात्र मतदान गर्न दिइएको र समय समाप्त भएपछि मतदान केन्द्र बन्द गरिएको जनाएको छ। मतदान प्रक्रिया सम्पन्न भइसकेकाले त्यसपछि थप प्रतिनिधिलाई मतदान गराउन नसकिने समितिको भनाइ छ।

घटनापछि केहीबेर महाधिवेशनस्थलमा तनावको अवस्था सिर्जना भए पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। धर्नारत प्रतिनिधिहरूले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।