चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि १५ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
पार्टी विधानअनुसार निर्वाचनबाट दुई खुला र एक महिला गरी तीन जना सहमहामन्त्री निर्वाचित हुनेछन्। बाँकी दुई सहमहामन्त्री भने सभापतिले मनोनीत गर्ने व्यवस्था छ।
खुलातर्फ असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी मैदानमा छन्।
महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबीच प्रतिस्पर्धा भइरहेको छ।
पदाधिकारी चयनका लागि मतदान जारी रहेको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि दिउँसो साढे ४ बजेसम्मको समय निर्धारण गरिएको छ। राम लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालका अनुसार दिउँसो सवा ३ बजेसम्म करिब एक हजार मत खसिसकेको छ।
यसअघि प्रकाशित समाचारमा निर्वाचनबाट सहमहामन्त्री निर्वाचित हुने संख्या सम्बन्धी विवरण त्रुटिवश फरक उल्लेख भएकामा सच्याइएको छ।











प्रतिक्रिया