भारततर्फ तस्करी हुँदै गरेको ४ किलो ४२० ग्राम अफिमसहित दुई जना पक्राउ


हेटौंडा ।

भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ४ किलो ४२० ग्राम लागुऔषध अफिम (चोप) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले नेपालका पहाडी जिल्लामा अवैध रूपमा उत्पादन हुने अफिम भारततर्फ तस्करी हुन लागेको सूचनाका आधारमा निगरानी बढाएको थियो। सोही क्रममा शुक्रबार दिउँसो करिब २ बजे मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बाट दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–४ निवासी ५४ वर्षीय राजकुमार लामा र हेटौंडा उपमहानगरपालिका–१५ निवासी ४० वर्षीय राजकुमार तितुङ रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ४ किलो ४२० ग्राम लागुऔषध अफिम (चोप) बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले अफिम उत्पादन, ओसारपसार तथा तस्करीमा संलग्न व्यक्तिहरूमाथि निगरानी तथा कारबाहीलाई थप तीव्र बनाइएको पनि जनाएको छ।