२३ वर्षीया आकांक्षा पोखरेल सबैभन्दा कान्छी केन्द्रीय सदस्य, ‘जेन–जी’ पुस्ताको आवाज बन्ने प्रतिबद्धता

376
Shares

भरतपुर।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट चितवनकी २३ वर्षीया आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिमध्ये सबैभन्दा कान्छी प्रतिनिधिका रूपमा सहभागी हुनुभएकी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो।

पार्टी सभापति रवि लामिछानेको मनोनयनबाट प्रतिनिधि बनेकी पोखरेलले केन्द्रीय सदस्य निर्वाचनमा ८ सय ८० मत प्राप्त गर्दै विजयी हुनुभएको हो। पार्टी स्थापना कालदेखि नै रास्वपामा सक्रिय रहँदै आउनुभएकी उहाँले महानगर सदस्य तथा महानगर कोषाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ। स्थानीय तहको जिम्मेवारीबाट उहाँ एकैपटक पार्टीको केन्द्रीय नेतृत्वमा पुग्न सफल हुनुभएको हो।

पोखरेल हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत हुनुहुन्छ। यसअघि उहाँले करिब दुई वर्ष चितवनमा पत्रकारितासमेत गर्नुभएको थियो।

निर्वाचनपछि प्रतिक्रिया दिँदै पोखरेलले देशभरबाट आएका प्रतिनिधिहरूले आफूलाई विश्वास गरेर निर्वाचित गराएकोमा खुसी व्यक्त गर्नुभयो। प्रतिनिधिहरूको विश्वासले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै उहाँले पार्टी र जनताको अपेक्षा पूरा गर्न इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आफू ‘जेन–जी’ पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय समितिमा पुगेको उल्लेख गर्दै उहाँले युवाको सक्रिय सहभागिताले नेपाली राजनीतिमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो समय युवाहरू राजनीतिप्रति आकर्षित हुँदै गएको उल्लेख गर्दै सक्षम, इमानदार र उत्तरदायी युवा नेतृत्वमार्फत सुशासन, पारदर्शिता र जवाफदेहिताको संस्कार स्थापित गर्न सकिने उहाँको धारणा छ।