चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनले चितवनको स्थानीय अर्थतन्त्रमा उल्लेखनीय सकारात्मक प्रभाव पारेको छ। झण्डै एक सातासम्म चलेको महाधिवेशनका कारण चितवन तथा आसपासका क्षेत्रमा रु ५० करोडभन्दा बढीको आर्थिक कारोबार भएको अनुमान गरिएको छ।
गत आइतबारदेखि सुरु भएको महाधिवेशन शुक्रबार पदाधिकारी निर्वाचनसँगै समापन हुँदैछ। देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुक तथा समर्थकहरूको उपस्थितिले भरतपुरसहित सौराहा, गैँडाकोटलगायतका क्षेत्रका होटल, रेष्टुरेन्ट, यातायात र अन्य व्यवसाय चलायमान बनेका हुन्।
आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशन अवधिभर करिब रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ। उहाँका अनुसार आवासमा मात्र झण्डै रु २० करोड खर्च भएको छ भने उद्घाटनका दिन र त्यसको भोलिपल्ट एकै दिन करिब २० हजार जना चितवनमा बसेका थिए।
गौतमले प्रतिनिधिहरूले आफ्नै खर्चमा आवासको व्यवस्था गरेका र पार्टीले चार दिनसम्म भोजनको व्यवस्था मिलाएको जानकारी दिनुभयो। पार्टीको तर्फबाट मात्र खाना व्यवस्थापनमा रु चार करोडभन्दा बढी खर्च भएको उहाँको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार महाधिवेशनका क्रममा बाहिरी जिल्लाबाट करिब दुई हजार २०० साना तथा ठूला सवारीसाधन चितवन प्रवेश गरेका थिए।
उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले महाधिवेशनले होटल तथा रेष्टुरेन्ट व्यवसायसँगै कृषि उत्पादनको खपतसमेत उल्लेख्य रूपमा बढाएको बताउनुभयो। दूध, मासु, माछा, अण्डा, फलफूललगायतका स्थानीय उत्पादनको माग बढ्दा समग्र आर्थिक गतिविधि चलायमान भएको उहाँको भनाइ छ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओम पाण्डेका अनुसार भरतपुरका होटलहरूले सबैभन्दा बढी लाभ उठाएका छन् भने त्यसपछि सौराहा र आसपासका पर्यटकीय क्षेत्रका होटलहरूमा पनि राम्रो व्यापार भएको छ। उहाँले पहिलो पटक चितवन आएका रास्वपाका नेता तथा कार्यकर्ताले जिल्लाका पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्ने अवसरसमेत पाएको बताउनुभयो।
महाधिवेशनले राजनीतिक गतिविधिसँगै चितवनको पर्यटन, होटल व्यवसाय, यातायात, कृषि तथा स्थानीय व्यापारमा समेत उल्लेखनीय आर्थिक चलायमानता ल्याएको व्यवसायीहरूको निष्कर्ष छ।











प्रतिक्रिया