चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महिला उपसभापति पदकी उम्मेदवार समीक्षा बास्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संस्थागत एकता र पार्टीलाई सही दिशामा अघि बढाउने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएकी हुन्।
‘कहिलेकाहीँ संस्थालाई अझ एकताबद्ध बनाउन र सही लयमा अघि बढाउन केवल दाबी गर्नु मात्र होइन, आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुन्छ,’ उनले लेखेकी छन्। ‘यही विश्वासका साथ मैले उपसभापति पदमा उम्मेदवारी दिने आफ्नो निर्णय फिर्ता लिएको छु।’
पार्टी समायोजनका क्रममा विवेकशील नेपाली दलबाट रास्वपामा प्रवेश गरेकी बास्कोटाको उम्मेदवारी फिर्तासँगै महिला उपसभापति पदमा अब सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि आफ्नो उम्मेदवारी फिर्ता लिइसकेकी छन्।
यसअघि खुला उपसभापति पदका उम्मेदवार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा. स्वर्णिम वाग्ले निर्विरोध उपसभापतिमा निर्वाचित भएका छन्।
महामन्त्री पदका उम्मेदवार शिशिर खनाल र जगदीश खरेलले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन्। पदाधिकारीका अन्य केही उम्मेदवारले समेत उम्मेदवारी फिर्ता लिने क्रम जारी रहेको महाधिवेशनस्थलबाट प्राप्त जानकारीमा उल्लेख छ।











प्रतिक्रिया