चलचित्र विकास बोर्डले हरेक वर्षझैँ यस वर्ष पनि सिनेमाका विभिन्न ९ विधामा राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गरी राष्ट्रपतिबाट प्रदान गरिने यो पुरस्कार नेपाली सिनेमा क्षेत्रका लागि सबैभन्दा प्रतिष्ठित पुरस्कारमध्ये एक हो ।
कुनै पनि कलाकार, प्राविधिक वा सिनेकर्मीका लागि राष्ट्रको तर्फबाट प्रदान गरिने राष्ट्रिय पुरस्कार र सम्मान विशेष महत्वको विषय हो । यसले सम्बन्धित व्यक्तिको योगदानको कदर गर्नुका साथै समग्र क्षेत्रलाई पनि प्रोत्साहन प्रदान गर्दछ । तर दुर्भाग्यवश, राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा र वितरणसँगै हरेक वर्षजस्तै यसपटक पनि विभिन्न खाले विवाद, असन्तुष्टि र प्रश्न उठेका छन् ।
सरकारी वा निजीस्तरका पुरस्कार र सम्मानको विषयमा विवाद हुनु नेपालमा नयाँ विषय होइन । निजी र सरकारी तवरमा प्रदान गरिने हरेकजसो पुरस्कार र सम्मान विवादमा पर्ने गर्छन् । निजी र सरकारी पुरस्कार र सम्मानलाई लिएर केही न केही विषयमा विवाद उत्पन्न गर्ने पनि गरिन्छ ।
राज्यले प्रदान गर्ने राष्ट्रिय पुरस्कार होस् वा निजी क्षेत्रबाट प्रदान गरिने पुरस्कार र सम्मानको निर्णय सार्वजनिक भएपछि वा पुरस्कार र सम्मान प्रदान गरिएपछि समर्थन तथा विरोध दुवै सुनिने गरेका छन् । आफू वा आप्mनो निकट पक्ष पुरस्कारको सूचीमा पर्दा निर्णय सही र उचित मान्ने तथा नपर्दा आलोचना गर्ने प्रवृत्ति सधैँ व्यापकरूपमा देखिन्छ । यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कार पनि त्यसबाट अछुतो रहन सकेन । कतिपय पुरस्कार र सम्मानलाई लिएर प्रश्न उठे वा उठाइए ।
यसपटकको मुख्य विवाद पुरस्कारको नतिजासँगै सम्मान र समारोहको व्यवस्थापन तथा सहभागितालाई लिएर देखिएको छ । नेपाली सिनेमा क्षेत्रमा दशकौँदेखि सक्रिय रहँदै आएका तथा महत्वपूर्ण योगदान पु¥याएका सिनेकर्मीहरूले निम्तोसमेत नपाएको गुनासो सार्वजनिक रूपमै गरेका छन् ।
केही चर्चित कलाकार र सिनेकर्मीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सहभागी हुनका लागि के मापदण्ड पूरा गर्नुपर्छ भन्ने प्रश्नसमेत उठाएका छन् । कतिपयले सिनेमा क्षेत्रमा कुनै सम्बन्ध नभएकाहरु समारोहमा देखिँदा हामी कसरी छुट्यौँ भन्ने सवाल कडारुपमा उठाएका छन् । यसले निम्तो वितरण र सहभागिता व्यवस्थापनमा पारदर्शिता तथा समावेशिताको आवश्यकता रहेको संकेत गर्छ ।
राष्ट्रिय दैनिकका फोटोपत्रकारलाई समेत प्रवेशबाट वञ्चित गरिएको विषय थप गम्भीर विषय बनेको छ । राष्ट्रिय पुरस्कार तथा सम्मान समारोह केवल एउटा औपचारिक कार्यक्रम मात्र होइन, त्यो राज्यले कुनै क्षेत्रप्रतिको सम्मान र दृष्टिकोण प्रस्तुत गर्ने महत्वपूर्ण विशेष मञ्च पनि हो । त्यसैले यस्ता समारोह सकेसम्म खुला, व्यवस्थित, समावेशी र प्रतिष्ठित हुनुपर्छ ।
सीमित व्यक्तिलाई खुसी पार्ने वा पहुँचका आधारमा सहभागी गराउने प्रवृत्तिले यस्ता कार्यक्रमको गरिमा बढाउँदैन, बरु प्रश्नको घेरामा पार्छ । यसको अर्थ उठेका सबै प्रश्न सही हुन्छन् वा सबै आलोचना न्यायोचित हुन्छन् भन्ने पनि होइन । राष्ट्रिय पुरस्कार र सम्मानजस्तो विषयमा प्रतिक्रिया जनाउँदा पनि जिम्मेवारीबोध आवश्यक हुन्छ । केवल चर्चा कमाउने वा विवाद सिर्जना गर्ने उद्देश्यले गरिने टिप्पणीले सम्बन्धित क्षेत्रको प्रतिष्ठालाई नै क्षति पु¥याउन सक्छ । आलोचना आवश्यक छ तर त्यो सुधारको उद्देश्यले हुनुपर्छ, अवमूल्यनका लागि होइन ।
राष्ट्रिय चलचित्र पुरस्कार र सम्मान राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय हो । त्यसैले पुरस्कार र सम्मान छनोट प्रक्रिया मात्र होइन, समारोहको व्यवस्थापन, सहभागिता र प्रस्तुति पनि त्यत्तिकै मर्यादित र विवादरहित हुन आवश्यक छ । राज्यले यस्ता कार्यक्रमलाई अझ व्यवस्थित, पारदर्शी र गरिमामय बनाउनेतर्फ ध्यान दिनुपर्छ । साथै, सम्बन्धित क्षेत्रका व्यक्तिहरूले पनि आप्mनो क्षेत्रको प्रतिष्ठा जोगाउने संस्कार विकास गर्नुपर्छ । किनभने राष्ट्रिय सम्मानको गरिमा जोगिनु भनेको अन्ततः नेपाली फिल्म उद्योगकै गरिमा जोगिनु हो ।











प्रतिक्रिया