एलपी ग्यास उद्योग संघले भन्यो– ग्यास आयात १५ प्रतिशत बढेको छ, अतिरिक्त सिलिन्डर नथप्नु


काठमाडौं।

नेपाल एलपी ग्यास उद्योग संघले पछिल्लो समय देखिएको ग्यास अभावको समस्या समाधान हुँदै गएको भन्दै उपभोक्तालाई आवश्यकता भन्दा बढी सिलिन्डर खरिद गरी सञ्चय नगर्न आग्रह गरेको छ।

संघका अनुसार नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढेको छ। आयात सहज भइरहेकाले ग्यास उद्योगहरूले सिलिन्डर रिफिलिङ तथा बजारमा वितरणको काम पनि निरन्तर गरिरहेको संघले जनाएको छ।

ग्यास अभाव हुने आशंकामा उपभोक्ताले अतिरिक्त सिलिन्डर खरिद गरी जगेडा राख्दा बजारमा कृत्रिम अभाव सिर्जना भएको संघको भनाइ छ। यसका कारण वास्तविक रूपमा ग्यास आवश्यक पर्ने उपभोक्ताले समेत ग्यास पाउन कठिनाइ भइरहेको संघले जनाएको छ।

संघले उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास खरिद नगर्न आग्रह गरेको छ। अतिरिक्त सिलिन्डर खरिद गर्ने क्रम रोकिएमा हाल देखिएको ग्यास अभावको समस्या तत्काल समाधान हुने संघको दाबी छ। आगामी दिनमा समेत एलपी ग्यासको आपूर्तिमा समस्या नहुने संघले जनाएको छ।

यस्तै, संघले ग्यास बिक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको छ। बजारको मागअनुसार ग्यास उपलब्ध गराउन आफूहरू हरसम्भव प्रयासरत रहेको संघले जनाएको छ।

आफ्ना सदस्य उद्योग तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरी उपभोक्तासम्म एलपी ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको संघले जनाएको छ। साथै, संघले सम्पूर्ण उपभोक्तालाई धैर्य र संयम अपनाई सहयोग गरिदिन आग्रह गरेको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिइएको हो।