कलाकर्मीलाई सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार


सांस्कृतिक संस्थानले ५४ औं वार्षिकोत्सवको अवसरमा संस्कृति संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

संस्थानले राष्ट्रिय नाचघरमा आयोजना गरेको विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ ले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्। लोकसंस्कृति क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउदै आएकी बमकुमारी बुढालाई नगद ५५ हजार ५ सय ५५ रुपिया सहित .यस वर्षको सांस्कृतिक संस्थान राष्ट्रिय दीर्घ साधना सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

त्यसैगरी, सम्राट सापकोटालाई राष्ट्रिय नाट्य सम्मान तथा पुरस्कार, पुरुषोत्तम न्यौपानेलाई राष्ट्रिय गायन सम्मान तथा पुरस्कार, जीवन आलेलाई राष्ट्रिय वादन सम्मान तथा पुरस्कार र वेद गुरुङलाई राष्ट्रिय नृत्य सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। कलाकर्मीहरुलाई जनही २५ हजार ५ सय ५५ रुपिया सहित सम्मानति गरिएको हो। संस्थानले वर्षको उत्कृष्ट कर्मचारी सम्मान तथा पुरस्कार रेखाकुमारी कटुवाल श्रेष्ठलाई प्रदान गरेको छ।

संस्थानले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, संगीत, नृत्य तथा नाट्य क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।