चितवन।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका क्रममा कानूनमन्त्री तथा पार्टी नेतृ सोविता गौतमले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले उपसभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो। उहाँले नेतृत्व चयनको पहिलो प्राथमिकता सहमतिमार्फत हुनुपर्ने बताउँदै सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा जाने धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, “उपसभापतिमा अरु साथीहरू को–को उम्मेदवार हुनुहुन्छ भन्ने कुरा उम्मेदवारी दर्ताको समय खुलेपछि मात्र स्पष्ट हुनेछ। हाम्रो पहिलो प्राथमिकता सहमतिमै नेतृत्व चयन होस् भन्ने हो। यदि सहमति हुन सकेन भने निर्वाचनमार्फत प्रतिस्पर्धा गर्नेछौँ।”
यसअघि बिहीबार सार्वजनिक गरिएको केन्द्रीय सदस्य निर्वाचनको परिणाममा गौतमले उल्लेख्य मत प्राप्त गर्नुभएको छ। निर्वाचन आयोगका अनुसार विद्युतीय मतदानमार्फत सम्पन्न निर्वाचनमा उहाँले २ हजार ५ सय ९४ मत प्राप्त गर्नुभएको थियो।
महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया सम्पन्न भइसकेको छ भने अब पदाधिकारी चयनको प्रक्रिया अगाडि बढ्ने तयारी गरिएको छ। सोही क्रममा उपसभापति पदका लागि गौतमले उम्मेदवारी घोषणा गर्नुभएको हो।











प्रतिक्रिया