चितवन।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत हुने पदाधिकारी निर्वाचनमा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
केन्द्रीय समितिको निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्।
महामन्त्री पदका लागि रञ्जुसहित हालसम्म कम्तीमा पाँच नेताले दाबी प्रस्तुत गरेका छन्। यसअघि मनीष झा र शिशिर खनालले उम्मेदवारी घोषणा गरिसकेका छन् भने कबिन्द्र बुर्लाकोटी र विपिन आचार्य पनि आकांक्षीका रूपमा देखिएका छन्।
विवेकशील साझा पार्टीबाट रास्वपामा समाहित भएकी रञ्जु काठमाडौं–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी पार्टीभित्र वैकल्पिक राजनीतिको पक्षधर नेताका रूपमा परिचित छिन्।
पार्टी विधानअनुसार महामन्त्री पदमा एक जना निर्वाचनबाट चयन हुने तथा एक जना मनोनयनमार्फत् नियुक्त हुने व्यवस्था रहेको छ। मनोनित महामन्त्रीतर्फ भने भूपदेव शाहको नाम चर्चामा रहेको बताइएको छ।
केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै अब रास्वपामा पदाधिकारी चयनको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।











प्रतिक्रिया