अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा इन्टरनेसनल नेपाली आर्टिस्ट सोसाइटी (इनास) मेरिल्यान्डले बाल्टिमोरमा दोस्रो किड्स ट्यालेन्ट शो २०२६ आयोजना गरेको छ।
प्रवासमा हुर्किरहेका नेपाली बालबालिकालाई नेपाली भाषा, कला, संस्कृति र पहिचानसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा गायन, नृत्य तथा नेपाली भाषा वक्तृत्वकलामा बालबालिकाले प्रतिभा प्रदर्शन गरेका थिए। ट्यालेन्ट शो २०२६ मा नृत्यतर्फ प्रतिष्ठा देवकोटा, गायनतर्फ आर्शिभ खनाल र नेपाली भाषा वक्तृत्वकलातर्फ कृपा ढकाल च्याम्पियन बनेका छन्।
तीनै विजेताले जनही ५ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा निसिजा गर्बुजा, राइम केसी, सृजिता तामाङ, शिवानी रामदाम, जिज्ञासा केसी, सोनिया बराइली, एन्स्ली मगर, समृद्धि पाथदेउती, संगीत पहारी र मिरन लिम्बु शीर्ष १० उत्कृष्ट प्रतियोगीमा छनोट भएका थिए। उनीहरूले जनही एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका थिए। आयोजकका अनुसार प्रतियोगितामा सहभागी सबै बालबालिकालाई नेपाली झण्डासहितको खादा, मायाको चिनो, प्रमाणपत्र र जनही ५० अमेरिकी डलर प्रदान गरिएको थियो।
गायनतर्फ वरिष्ठ गीतकार सञ्जीव प्रधान र भगवान भण्डारी, नृत्यतर्फ कलाकार सारंगा श्रेष्ठ, उषा पौडेल र पूजा चन्द तथा नेपाली भाषा वक्तृत्वकलातर्फ डा. रानी साक्य, सुनिता बस्नेत र नीर थापा निर्णायक मण्डलमा रहेका थिए। कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत शरदराज आर्य, मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारी र ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाललगायत सहभागी भएका थिए। कार्यक्रमकै अवसरमा इनास मेरिल्यान्डले इनास कला केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। केन्द्रमार्फत नेपाली नृत्य, गायन, नेपाली भाषा र जुम्बा कक्षा सञ्चालन गरिने जनाइएको छ।











प्रतिक्रिया