सन् १९७५ को चर्चित फिल्म शोले लन्डनको रोयल अल्बर्ट हलमा विशेष प्रदर्शन हुने


काठमाडौं ।

भारतीय सिनेमाको इतिहासमा ‘कल्ट क्लासिक’ मानिने फिल्म ‘शोले’ अब बेलायतको प्रतिष्ठित रोयल अल्बर्ट हल, लन्डनमा विशेष शैलीमा प्रदर्शन गरिने भएको छ।

निर्देशक रमेश सिप्पीको यो चर्चित फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, संजीव कुमार, अमजद खान, हेमा मालिनी र जया भादुडी लगायतका कलाकारको अभिनय रहेको छ। सन् १९७५ मा प्रदर्शन भएको यो फिल्म आज पनि भारतीय सिनेमाको उत्कृष्ट कृतिमध्ये एक मानिन्छ।

अक्टोबर १० मा विशेष स्क्रिनिङ

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगामी अक्टोबर १० मा रोयल अल्बर्ट हलमा ‘शोले’को विशेष स्क्रिनिङ आयोजना गरिनेछ। कार्यक्रमको मुख्य आकर्षण भनेको फिल्म प्रदर्शन भइरहँदा रोयल फिलहार्मोनिक कन्सर्ट अर्केस्ट्राले संगीतकार आर.डी. बर्मनका कालजयी धुनहरू प्रत्यक्ष प्रस्तुत गर्नु हो।

‘फिल्म्स इन कन्सर्ट’ नाम दिइएको यस कार्यक्रमले दर्शकलाई चलचित्र र सांगीतिक प्रस्तुति एकैसाथ अनुभव गर्ने अवसर प्रदान गर्नेछ।

4K संस्करणमा देखाइने

स्क्रिनिङका क्रममा दर्शकले ‘शोले’को नयाँ 4K रिस्टोर्ड संस्करण हेर्न पाउनेछन्। यस संस्करणमा सन् १९७५ मा भारतीय सेन्सर बोर्डले हटाएका केही दृश्यसमेत समावेश गरिएको बताइएको छ।

फिल्मलाई हिन्दी भाषामै प्रदर्शन गरिनेछ भने अन्तर्राष्ट्रिय दर्शकका लागि अंग्रेजी सबटाइटलको व्यवस्था हुनेछ।

भारतीय सिनेमाको ऐतिहासिक फिल्म

‘शोले’लाई भारतीय सिनेमाको सबैभन्दा प्रभावशाली फिल्ममध्ये एक मानिन्छ। यसको कथा, संवाद, पात्र र संगीत आज पनि दर्शकमाझ उत्तिकै लोकप्रिय छन्। विशेष गरी गब्बर सिंहको पात्र भारतीय चलचित्र इतिहासकै चर्चित खलनायकमध्ये एक मानिन्छ।