पद्मभूषण पाएपछि भावुक बनिन् अल्का याज्ञिक, भनिन्– ‘यो सम्मान मेरा श्रोताहरूको पनि हो’


काठमाडौँ।

प्रसिद्ध पार्श्व गायिका अल्का याज्ञिकले प्रतिष्ठित पद्मभूषण प्राप्त गरेपछि खुशी र भावुकता व्यक्त गरेकी छन्। उनले यो सम्मान केवल आफ्नो नभई लाखौं श्रोताहरूको पनि भएको बताएकी छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै अल्काले पछिल्ला दुई वर्ष आफ्नो जीवनका लागि चुनौतीपूर्ण रहेको उल्लेख गरेकी छन्। उनले स्वास्थ्य समस्याका कारण सार्वजनिक कार्यक्रम, मिडिया तथा सामाजिक गतिविधिबाट टाढा रहनुपरेको बताइन्।

“विगत दुई वर्षदेखि म लाइमलाइट र सार्वजनिक कार्यक्रमहरूबाट टाढा थिएँ। यस अवधिमा म कठिन स्वास्थ्य अवस्थाबाट गुज्रिएँ। तर मेरा प्रशंसकहरूको माया, प्रार्थना, सन्देश र निरन्तर समर्थनले हरेक क्षण साथ दियो,” उनले लेखेकी छन्।

पद्मभूषण प्राप्त गर्नु आफ्नो जीवनको अत्यन्त गर्विलो र विनम्र क्षण भएको उल्लेख गर्दै उनले भनिन्, “यो सम्मान मेरो मात्र होइन, ती लाखौं श्रोताहरूको पनि हो, जसले मेरो आवाजलाई आफ्नो जीवनको हिस्सा बनाए, मेरा गीतलाई पुस्तौँसम्म माया गरे र सुख-दुःखका हरेक क्षणमा साथ दिए।”

मंगलबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा द्रौपदी मुर्मुले पद्म पुरस्कार–२०२६ प्रदान गरेकी थिइन्।

करिब दुई वर्षअघि अल्काले आफू सेन्सोरिन्युरल हियरिङ लसबाट प्रभावित भएको जानकारी सार्वजनिक गरेकी थिइन्। यो यस्तो अवस्था हो, जसले श्रवणशक्तिमा कमी ल्याउने गर्छ। स्वास्थ्य समस्याका बाबजुद उनले दर्शक र शुभेच्छुकबाट प्राप्त साथ तथा मायाप्रति आभार व्यक्त गरेकी छन्। -बीबीसीबाट