बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस


काठमाडौं ।

चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार अध्यक्ष पदका लागि डा. विजयचन्द्र आचार्य, डा. अजयकुमार झा र डा. योगेन्द्र प्रसाद सिंहको नाम सिफारिस गरिएको हो।

यसअघि मन्त्रालयले गत जेठ २७ गते सात जनाको नाम अल्पसूचीमा प्रकाशित गरेको थियो। अल्पसूचीमा परेका उम्मेदवारसँग कार्ययोजना पत्रसमेत माग गरिएको थियो। मन्त्रालयले गत वैशाख १५ गते सात दिनको म्याद राखेर रिक्त अध्यक्ष पदका लागि खुला आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि आठ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ।

यसपटक अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष छनोट प्रक्रिया अघि बढाइएको हो। ऐनअनुसार चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था छ। अध्यक्ष पदको कार्यकाल तीन वर्षको रहने प्रावधान छ। यसअघि उक्त पदमा डा. विजयराज न्यौपाने कार्यरत थिए।