विष्णु पौडेललाई २० दिन थुनामा राख्न सरकारी वकिलको माग, अदालतमा बहस जारी


काठमाडौँ।

पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले विशेष अदालतसँग अनुमति मागेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टसँग शंकास्पद आर्थिक कारोबार देखिएको आरोपमा सम्पत्ति शुद्धीकरण विभागको सिफारिसपछि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। उनलाई मंगलबार विशेष अदालतमा उपस्थित गराइएको हो।

अदालतमा सरकारी वकिलले अनुसन्धान प्रभावकारी बनाउन पौडेललाई २० दिन हिरासतमा राख्नुपर्ने माग राखेका छन्। नेता पौडेल पक्षका कानुन व्यवसायीहरूले उनी जिम्मेवार सार्वजनिक व्यक्ति भएकाले फरार नहुने दाबी गर्दै हाजिर जमानीमा तारिखमा छाड्न आग्रह गरेका छन्।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार सरकारी पक्षको बहस सम्पन्न भइसकेको छ भने हाल प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्।

दुवै पक्षको बहस सकिएपछि मात्र इजलासले थुनामा राख्ने वा अन्य विकल्प अपनाउने विषयमा आदेश जारी गरिनेछ ।