लन्डन, (एजेन्सी) ।
युरुग्वेसँगको खेल सकिएपछि इरानी फुटबल टोलीले लस एन्जलसस्थित सोफी स्टेडियमको ड्रेसिङ रुममा एक हस्तलिखित पत्र छोडेर गएको छ । खेल सकिएलगत्तै अमेरिका छोड्नु पर्ने बाध्यताको क्रममा टोलीबाट यस्तो सन्देश लेखिएको हो । अमेरिकाको प्रशासनको शर्तअनुसार इरानी टोलीले हरेक खेल खेलेपछि देश छाडेर मेक्सिकोमा जानु पर्ने रहेको छ ।
अहिले इरान फुटबल महासंघले टोलीद्वारा लिखित सन्देशलाई विश्व मिडियामा सार्वजनिक पनि गरेको थियो । पत्रमा लेखिएको थियो–,‘हजारौं वर्ष पुरानो प्राचीन पर्सियादेखि आजको आधुनिक इरानसम्म, इरानको आत्मा सधैं जीवित र अटल छ ।’
इरानी टोलीले लस एन्जलसका आयोजक फिफा, स्थानीय समुदाय तथा समर्थकहरूप्रति आभार व्यक्त गर्दै लेखेको छ,‘धन्यवाद लस एन्जलस‚ तपाईहरूको आतिथ्यताका लागि । हामी यहाँ गर्वका साथ आएका थियौं, सम्मानका साथ प्रतिस्पर्धा ग¥यौं र अब आत्मसम्मानका साथ फर्किंदैछौं ।’
पत्रमा समर्थकप्रति विशेष धन्यवाद दिँदै विश्वभर शान्ति, सम्मान र मित्रताको सन्देश पनि दिइएको छ । ‘हाम्रो साथमा आफ्नो मन, आवाज र आत्मा लगाएर १८० मिनेटसम्म समर्थन गर्ने प्रत्येक इरानीलाई धन्यवाद । सबै राष्ट्रबीच शान्ति, सम्मान र मित्रता कायम रहोस्,’ पत्रमा उल्लेख थियो ।
यसैबीच, पत्रमा रातो मसीले ‘७६८’ र ‘मिनाब’ पनि लेखिएको थियो । मिनाब विद्यालयमा अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा करिब १७० बालबालिकाको ज्यान गएको घटनाप्रति संकेत गरिएको बताइएको छ ।
इरानी टोली खेलको अघिल्लो दिन मात्र खेल हुने सहरमा पुग्छ र खेल समाप्त हुनासाथ फेरि अमेरिका छोड्नुपर्ने अवस्था छ । विश्वकपको समूह ‘जी’ अन्तर्गत दुई खेलेकोमा इरानले दुबै खेलमा बराबरी खेलेको थियो ।
पहिलो खेलमा न्यूजील्यान्डसँग २–२ बराबरी खेलेको इरानले दोस्रो खेलमा बेल्जियमलाई गोलरहित बराबरीमा रोकेको थियो । यस समूहमा इजिप्ट ४ अंकसहित शीर्ष स्थानमा छ ।
२ अंक लिएको इरानी टोली नकआउट चरण पुग्ने आसमा छ । इरानले अन्तिम खेलमा इजिप्टसँग बराबरी मात्रै खेल्न सकेपनि नकआउटको संभावना हुन सक्नेछ ।











प्रतिक्रिया