बलिउड अभिनेता पंकज त्रिपाठीका भाइमाथि धारिलो हतियार प्रहार, पटना एम्समा भर्ना


काठमाडौँ ।

बलिउड अभिनेता पंकज त्रिपाठीका भाइ विजेन्द्र नाथ तिवारीमाथि आइतबार साँझ घरबाहिर धारिलो हतियार प्रहार भएको छ। बीबीसी हिन्दीका अनुसार जग्गा विवादका कारण उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

आक्रमणबाट घाइते भएका तिवारीलाई प्रारम्भिक उपचारका लागि गोपालगञ्ज सदर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचार आवश्यक देखिएपछि उनलाई पटनास्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा रेफर गरिएको बताइएको छ। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।

बीबीसीसँग कुरा गर्दै गोपालगञ्ज सदर–२ का एसडीपीओ राजेश कुमारले आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। उनका अनुसार घटनाको मुख्य कारण जग्गासम्बन्धी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पंकज त्रिपाठी बिहारको गोपालगञ्ज जिल्लाका निवासी हुन्। यद्यपि घाइते विजेन्द्र नाथ तिवारी अभिनेता त्रिपाठीका सहोदर भाइ हुन् वा नातागोताका आफन्त हुन् भन्ने विषयमा भने आधिकारिक पुष्टि भइसकेको छैन।