एन्जेलिना जोलीसँग सहकार्य गर्दै प्रियंका चोपडा



काठमाडौ
अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा जोनसले एक ठूलो सहकार्यको पुष्टि गर्दै आफ्ना प्रशंसकलाई उत्साहित बनाएकी छन्। प्रियंकाले चाँडै नै हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीसँग नयाँ प्रोजेक्टमा काम गर्न लागेको खुलासा गरेकी हुन्। यद्यपि उनले परियोजनाको प्रकृति वा विस्तृत विवरण सार्वजनिक गरेकी छैनन्, तर उनको यस घोषणाले मनोरञ्जन क्षेत्रमा चर्चा सुरु भएको छ।

हालैको एक अन्तरवार्तामा प्रियंकाले आफ्ना आगामी काम, अन्तर्राष्ट्रिय करियर तथा आफूलाई प्रेरणा दिने महिलाहरूका बारेमा चर्चा गरेकी थिइन्। सोही क्रममा उनले एन्जेलिना जोलीसँग सहकार्य गर्न लागेको पुष्टि गरिन्। यद्यपि उनले यसबारे थप जानकारी दिन अस्वीकार गरिन्, तर उनको यो खुलासाले प्रशंसक र फिल्म उद्योगको ध्यान आकर्षित गरेको छ।

प्रियंका चोपडा र एन्जेलिना दुवै आफ्नो क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन्। एन्जेलिना जोली हलिउडकी प्रतिष्ठित अभिनेत्रीमध्ये एक हुन् भने प्रियंकाले भारतीय सिनेमादेखि अन्तर्राष्ट्रिय मनोरञ्जन जगतसम्म बलियो पहिचान स्थापित गरेकी छन्। यस्तो अवस्थामा यी दुई स्टार एउटै प्रोजेक्टमा जोडिनु आफैंमा महत्वपूर्ण घटना मानिएको छ।

हालसम्म यो सहकार्य कुनै फिल्म, वेब सिरिज, विज्ञापन अभियान वा सामाजिक पहलसँग सम्बन्धित हो भन्ने स्पष्ट भएको छैन। दुवै कलाकार मनोरञ्जनका साथै विभिन्न अन्तर्राष्ट्रिय सामाजिक तथा मानवीय अभियानमा पनि सक्रिय रहँदै आएका छन्। त्यसैले यस परियोजनाबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन्।

कुराकानीका क्रममा प्रियंकाले आफूलाई व्यावसायिक जीवनमा प्रेरणा दिने महिलाहरूको पनि चर्चा गरिन्। उनले एन्जेलिना जोलीसँगै पेनेलोप क्रुज र सल्मा हायेकको नाम लिँदै उनीहरूले अभिनय र सामाजिक योगदानमार्फत विश्वव्यापी पहिचान बनाएको बताइन्।

पछिल्लो एक दशकमा प्रियंका चोपडाको अन्तर्राष्ट्रिय करियर निरन्तर विस्तार हुँदै आएको छ। हलिउड फिल्म, विश्वव्यापी टेलिभिजन सिरिज तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा उनको सक्रिय उपस्थितिले उनलाई विश्वभर परिचित बनाएको छ। अब एन्जेलिना जोलीसँगको सम्भावित सहकार्यलाई उनको करियरको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यसैबीच प्रियंका भारतीय सिनेमामा पनि बहुप्रतीक्षित पुनरागमनको तयारीमा छिन्। उनी चर्चित निर्देशक एस.एस. राजामौलीको महत्वाकांक्षी फिल वाराणासीमा अभिनय गर्दैछिन्। यो फिल्ममार्फत उनले धेरै वर्षपछि भारतीय चलचित्र उद्योगमा पुनरागमन गर्नेछिन्। फिल्मलाई लिएर दर्शकमाझ पहिले नै ठूलो उत्साह देखिएको छ र यसलाई भारतीय सिनेमाको सबैभन्दा ठूलो बजेटका परियोजनामध्ये एक मानिएको छ।

जानकारीअनुसार फिल्मको छायांकन विश्वका विभिन्न देश र स्थानहरूमा गरिएको छ। जर्जिया, अन्टार्कटिका, अफ्रिका र हैदराबादलगायतका स्थानमा फिल्मांकन सम्पन्न भएको बताइएको छ। फिल्मलाई विश्वव्यापी दर्शकलाई लक्षित गरेर निर्माण गरिएको छ र ठूलो स्तरमा प्रदर्शन गर्ने योजना बनाइएको छ।

प्रियंकाले फिल्मप्रति आफ्नो उत्साह व्यक्त गर्दै यो अत्यन्त महत्वाकांक्षी परियोजना भएको बताएकी छन्। लामो समयपछि यति ठूलो स्तरमा केही नयाँ गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले यो केवल भारतका लागि मात्र नभई विश्वभरका दर्शकका लागि विशेष अनुभव बन्न सक्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार विगत तीन वर्षदेखि निर्माण भइरहेको यो परियोजनाले अन्तर्राष्ट्रिय स्तरमा भारतीय सिनेमाको नयाँ पहिचान स्थापित गर्न सक्छ।

फिल्म वाराणासीलाई सन् २०२७ अप्रिल ७ मा विश्वभर प्रदर्शन गर्ने योजना रहेको छ। उद्योग विश्लेषकहरूका अनुसार प्रियंका चोपडाको अन्तर्राष्ट्रिय लोकप्रियता र राजामौलीको भव्य प्रस्तुतीकरणले फिल्मलाई विश्वव्यापी सफलता दिलाउन सक्छ।

एन्जेलिना जोलीसँगको सहकार्यको पुष्टि र भारतीय सिनेमामा भव्य पुनरागमनको तयारीबीच प्रियंका चोपडा फेरि एकपटक विश्व मनोरञ्जन जगतको चर्चामा छिन्।