भारतीय अवरोधले थलियो नेपाली चिया उद्योग: वैकल्पिक बजार खोज्दै उद्योगी, सरकार भने मौन


काठमाडौं

भारतले नेपाली चिया आयातमा नयाँ प्राविधिक तथा व्यापारिक अवरोध खडा गरेपछि नेपालको चिया उद्योग गम्भीर संकटमा परेको छ । डेढ महिनादेखि भारततर्फ पैठारी हुँदै आएको चिया निर्यात ठप्पप्रायः बनेपछि दर्जनौं चिया उद्योग बन्द हुने अवस्थामा पुगेका छन् भने हजारौं किसान र मजदुरको रोजीरोटी संकटमा परेको छ ।

नेपालले कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित भारतबाट आयात हुने केही फूल तथा तरकारीमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर चिया व्यापारमा परेको व्यवसायीहरूको आरोप छ । भारतले नेपाली चियामा नयाँ नियम लागू गरेपछि सीमाक्षेत्रमै चिया रोकिएको छ भने निर्यातकर्ताहरू ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य भएका छन् ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले लगाएको अवरोधका कारण वार्षिक करिब ४ अर्ब रुपियाँ बराबरको नेपाली चिया निर्यात जोखिममा परेको छ ।

‘अहिलेको अवस्था अघोषित नाकाबन्दीभन्दा कम छैन,’ अध्यक्ष पराजुलीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हाम्रो चिया भूराजनीतिक खेलको सिकार बनेकोजस्तो देखिन्छ । नेपालका कृषिमा आधारित उद्योगलाई भारतकै उद्योगसरह व्यवहार गर्ने भनिए पनि व्यवहारमा त्यसको उल्टो भइरहेको छ ।’

नेपाल चिया उत्पादक संघका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा ४ अर्ब रुपियाँ बराबरको चिया निर्यात गर्दै आएको थियो । गत आर्थिक वर्ष २०८१÷८२ मा मात्रै ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपियाँ बराबरको चिया निर्यात भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । नेपालमा वार्षिक २ करोड ६५ लाख किलोग्राम चिया उत्पादन हुने गरेकोमा करिब २ करोड किलो तराईमा र ६५ लाख किलो पहाडी भेगमा उत्पादन हुन्छ । यो उद्योगसँग एक लाख श्रमशक्ति प्रत्यक्ष रूपमा जोडिएका छन् ।

भारतमा निर्यात अवरुद्ध भएपछि नेपाली उद्योगीहरूले अहिले चीन, बंगलादेश, पाकिस्तान, संयुक्त अरब इमिरेट्स तथा केही युरोपेली मुलुकहरूमा वैकल्पिक बजार खोज्न थालेका छन् । तर, नयाँ बजारमा प्रवेश गर्न सरकारी तहबाट आवश्यक कूटनीतिक तथा व्यापारिक पहल नदेखिएको उद्योगीहरूको गुनासो छ ।
अध्यक्ष पराजुलीका अनुसार बंगलादेशले नेपाली चियालाई स्वागत गर्ने संकेत दिएको भए पनि ३० प्रतिशतसम्मको भन्सार शुल्कका कारण प्रतिस्पर्धात्मक मूल्यमा चिया निर्यात गर्न कठिनाइ भइरहेको छ । ‘बंगलादेशले भन्सार छुट दिन सकिने संकेत गरेको छ । तर, त्यसका लागि नेपालले पनि समान मूल्यका बंगलादेशी वस्तुमा सहुलियत दिनुपर्ने सर्त राखेको छ,’ उहाँले भन्नुभयो–‘त्यसतर्फ सरकारी तहबाट कुनै ठोस पहल भएको देखिएको छैन ।’

विश्वकै प्रमुख चिया आयातकर्ता राष्ट्रमध्ये एक पाकिस्तानलाई पनि नेपाली व्यवसायीहरूले सम्भावित बजारका रूपमा हेरेका छन् । पाकिस्तानमा वार्षिक करिब १७ करोड किलोग्राम चिया खपत हुने भए पनि हाल त्यहाँ नेपाली चियाको उपस्थिति नगण्य छ । अधिकांश चिया केन्या तथा अन्य अफ्रिकी मुलुकबाट आयात हुने गरेको छ ।

भारततर्फको निर्यात रोकिएपछि उद्योगीहरूलाई मात्र होइन, किसान र मजदुरलाई पनि प्रत्यक्ष असर परेको छ । उत्पादन भण्डारणमा थुप्रिँदै जाँदा किसानले उचित मूल्य पाउन सकेका छैनन् भने कतिपय उद्योगले उत्पादन कटौती गर्न थालेका छन् ।

इलामका एक चिया उद्योगी सुरेन्द्र गिरीका अनुसार उद्योग सञ्चालन खर्च धान्नै कठिन हुन थालेको छ । ‘गोदाममा चिया थुप्रिएको छ, नयाँ खरिद रोकिएको छ,’ उहाँले भन्नुभयो । ‘निर्यात खुल्ने निश्चितता छैन । अवस्था यस्तै रहने हो भने धेरै उद्योगले उत्पादन बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने भारतसँग कूटनीतिक तथा प्राविधिक तहमा संवाद भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले तेस्रो मुलुकमा बजार विस्तारको विषय उठे पनि त्यसका लागि समय, तयारी र लगानी आवश्यक पर्ने बताउनुभयो ।

चिया नेपालको प्रमुख निर्यातजन्य कृषिजन्य वस्तुमध्ये एक हो । विदेशी मुद्रा आर्जन, ग्रामीण रोजगारी र कृषि अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने क्षेत्र अहिले अनिश्चितताको भुमरीमा परेको छ । उद्योगीहरू भन्छन्–‘यदि सरकारले तत्काल पहल नगर्ने हो भने नेपालले अरबौं रुपियाँको निर्यात आम्दानीमात्र गुमाउने छैन, दशकौंको मिहिनेतले निर्माण भएको अन्तर्राष्ट्रिय नेपाली चियाको पहिचानसमेत संकटमा पर्न सक्छ ।’