चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनमा सुरु भएको छ । पार्टी स्थापना भएपछि पहिलोपटक आयोजित महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना र रणनीति तय गर्ने अपेक्षा गरिएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको वैचारिक मार्गदर्शन, संगठन विस्तार रणनीति तथा आगामी निर्वाचन केन्द्रित कार्यदिशा तय गर्नेछ । २०७९ को निर्वाचनबाट राष्ट्रिय राजनीतिमा उदाएको रास्वपाका लागि यो महाधिवेशन जनविश्वासलाई संस्थागत गर्ने पहिलो ठूलो राजनीतिक परीक्षा मानिएको छ ।
महाधिवेशन उद्घाटन गर्दै रास्वपा सभापति रवि लामिछानेले चुनावअघि भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता दोहो¥याउँदै पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहसँगको सहकार्य जारी रहने संकेत गर्नुभयो । उहाँले चुनावअघि नै पार्टीले शाहलाई समर्थन गरिसकेको उल्लेख गर्दै भन्नुभयो– ‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पु¥याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको ।’
उद्घाटन सत्रमा उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान राजनीतिक व्यवस्थाको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै संविधान र लोकतान्त्रिक संरचना विस्तार भए पनि राज्यका संस्थाहरू बलिया बन्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले सम्मानजनक रोजगारी सिर्जना हुन नसक्दा युवापुस्ताको विदेश पलायन बढेको र नागरिकमा निराशा फैलिएको धारणा पनि राख्नुभयो ।
महाधिवेशनमा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाले छोटो समयमै प्राप्त गरेको जनमतलाई “लोभलाग्दो उपलब्धि” भन्दै त्यसलाई अहंकारमा परिणत हुन नदिन सुझाव दिनुभयो । त्यसै गरी नेकपा (एमाले) का प्रदिप ज्ञवालीले जनमतलाई राष्ट्र निर्माण र लोकतान्त्रिक संस्थाको सुदृढीकरणमा प्रयोग गर्न आग्रह गर्दै राजनीतिक यात्रामा “एक्सिलेटर र ब्रेक दुवै आवश्यक” हुने टिप्पणी गर्नुभयो ।
त्यसै गरी जनमत पार्टीका अध्यक्ष सीके राउतले महाधिवेशनलाई परिवर्तन र नयाँ आशाको संकेतका रूपमा व्याख्या गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदान दिने सहिद र आन्दोलनकारीहरूको योगदान स्मरण गर्नुभयो ।
केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनअन्तर्गत नेतृत्व चयनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । प्रतिनिधिहरूको अन्तिम नामावली सोमवार प्रकाशन गरिनेछ भने सोही दिन दिउँसोबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ । सभापति पदमा संस्थापक सभापति रवि लामिछानेलाई निरन्तरता दिने पक्ष बलियो देखिए पनि महिला उपसभापतिलगायत अन्य पदमा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । प्रतिभा रावल, लीमा अधिकारी, सोविता गौतम र समीक्षा बाँस्कोटासहितका नेतृहरू महिला उपसभापति पदका दाबेदारका रूपमा सक्रिय छन् ।
महाधिवेशन स्थलमा राजनीतिक बहसभन्दा बाहिर पनि उत्साहपूर्ण दृश्यहरू देखिएका थिए । कार्यकर्ताहरूले गीतमार्फत रवि लामिछानेलाई सम्झिए । विभिन्न सांस्कृतिक कार्यक्रम, नाराबाजी र पञ्चेबाजाले महाधिवेशन स्थललाई उत्सवमय बनाएको थियो । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति पनि कार्यकर्ताको विशेष आकर्षण देखिएको थियो । केही गीत र नारामा रवि र बालेनलाई परिवर्तनका प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो ।
गर्मीयामको चर्काे तापलाई ध्यानमा राख्दै आयोजकले सहभागीका लागि मोहीको व्यवस्था गरेको थियो । आवास तथा भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार चितवनको स्थानीय संस्कृतिसँग जोडेर मोही वितरण गरिएको हो । मोही लिन कार्यकर्ताहरूको भीड लाग्दा केहीबेर सामान्य धकेलाधकेलसमेत भएको थियो ।
महाधिवेशन सुरु हुनुअघि वर्षाका कारण केही चुनौती उत्पन्न भए पनि आयोजकले टेन्ट तथा आवश्यक पूर्वाधारको व्यवस्था गरेकाले कार्यक्रम प्रभावित हुन पाएन । मौसम प्रतिकूल रहे पनि कार्यकर्ताको उत्साह भने उल्लेखनीय देखिएको थियो ।

…………………………………………………………………………………………………………………
सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पु¥याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको ।
रवि लामिछाने, सभापति, रास्वपा

नेपाली कांग्रेसका सभापति थापा-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली कांग्रेसका सभापति गगन थापा । तस्बिरः प्रदीपराज वन्त/रासस
पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ । यो लोभलाग्दो छ । म मुक्तकण्ठले प्रशंसा गर्दछु ।
गगन थापा, सभापति, नेपाली कांग्रेस

गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिएको हुन्छ । एक्सिलेटरले गति दिन्छ भने ब्रेकले त्यसलाई नियन्त्रण गर्छ । यदि गतिमात्र बढाइयो र नियन्त्रणको पक्षलाई बेवास्ता गरियो भने दुर्घटनाको जोखिम बढ्छ ।
प्रदिप ज्ञवाली, उपमहासचिव, एमाले

तपाईं जुन आन्दोलनबाट उदय हुनुभएको छ, सहिदको सपना कहिल्यै नबिर्सिनु होला ।
सीके राउत, अध्यक्ष, जनमत पार्टी











प्रतिक्रिया