काठमाडौं।
नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व शिक्षाराज्यमन्त्री तथा पूर्व महिला, बालबालिका तथा समाज कल्याण मन्त्री राजेन्द्र खरेल को निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उहाँको २०८३ साल असार ७ गते राति ९:४५ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाईन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारकै क्रममा निधन भएको हो। उहाँ ८० वर्षका हुनुहुन्थ्यो।
लामो समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत रहनुभएका खरेलको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी, निष्ठावान र लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गुमाएको छ। उहाँका छोरा महेश खरेल हाल काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुनुहुन्छ।
वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा पिता सुब्बा देवीप्रसाद खरेल तथा माता मुकुन्दकुमारी खरेलको माइलो सन्तानका रूपमा जन्मिनुभएका खरेल नेपाली कांग्रेसका आदर्शवादी र सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँका परिवारमा श्रीमती तथा तीन छोरा कृष्ण, महेश र शैलेश खरेल हुनुहुन्छ।
खरेलको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै प्रारम्भ भएको थियो। वि.सं. २०२५–२०२६ सालतिर तत्कालीन नेशनल कलेज (हाल शंकरदेव कलेज) मा अध्ययनरत रहँदा उहाँले नेपाल विद्यार्थी संघको इकाइ गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। त्यसबेला प्रख्यात अर्थशास्त्री विश्वम्भर प्याकुरेल अध्यक्ष रहँदा खरेल सचिवको भूमिकामा सक्रिय हुनुहुन्थ्यो।
लोकतन्त्र स्थापनाका लागि भएका देशका प्रमुख राजनीतिक आन्दोलनहरूमा उहाँ अग्रपङ्क्तिमा रहनुभयो। वि.सं. २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ सालको जनआन्दोलनमा उहाँको सक्रिय सहभागिता थियो। नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहेकै कारण उहाँले विभिन्न समयमा गरी झण्डै नौ वर्ष जेल जीवन बिताउनुभएको थियो। जेल जीवनका क्रममा पनि उहाँ राजनीतिक बन्दी तथा अभावग्रस्त साथीहरूका सहयोगीका रूपमा चिनिनुहुन्थ्यो।
खरेल नेपाली कांग्रेसका संस्थापक पुस्ताका शीर्ष नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका विश्वासपात्र नेतामध्ये एक मानिनुहुन्थ्यो। पार्टी संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा कार्यकर्ता निर्माणमा उहाँको महत्वपूर्ण योगदान रहेको स्मरण गरिन्छ।
काभ्रे कांग्रेसको इतिहासमा उहाँको योगदान विशेष रूपमा उल्लेखनीय मानिन्छ। उहाँ पटक–पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएको थियो। वि.सं. २०५६ सालको आमनिर्वाचनमा काभ्रे क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शिक्षा राज्यमन्त्री नियुक्त हुनुभयो। त्यसपछि उहाँले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभयो।
शिक्षा राज्यमन्त्रीका रूपमा उहाँले काभ्रेको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँकै पहलमा काभ्रेमा प्राथमिक शिक्षा परियोजना लागू गरिएको थियो, जसले विद्यालय भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणमा ठूलो योगदान पुर्यायो। परियोजनामार्फत धेरै विद्यालयले आवश्यक संरचना प्राप्त गर्नुका साथै प्राथमिक शिक्षाको पहुँच र गुणस्तर विस्तारमा समेत उल्लेखनीय उपलब्धि हासिल भएको थियो।
राज्यमन्त्री रहँदा कार्यकारी अधिकार प्रयोग गर्दै उहाँले देशभर करिब एक हजार तीन सय शिक्षक दरबन्दी वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। काभ्रे जिल्लामा मात्रै करिब २५० शिक्षक दरबन्दी थप गराउन सफल भएको श्रेय उहाँलाई दिइन्छ। त्यसबाट विद्यालय सञ्चालन सहज हुनुका साथै धेरै विद्यालय उच्च माध्यमिक तहसम्म स्तरोन्नति हुन सफल भएका थिए।
वि.सं. २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित खरेल पछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा आबद्ध हुनुभएको थियो। उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी नीतिगत सुधार, सामाजिक कल्याण तथा बालअधिकार प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो।
खरेलको निधनप्रति नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उहाँको निधनले विशेषगरी काभ्रे कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताइएको छ। लोकतन्त्र, निष्ठा, मूल्य र सिद्धान्तमा आधारित राजनीतिका पक्षधर खरेलको योगदान र राजनीतिक विरासत नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा सदैव स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।
स्वर्गीय राजेन्द्र खरेलप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।











प्रतिक्रिया