रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको पहिलो महाधिवेशन उद्घाटन



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा भव्य रूपमा सुरु भएको छ। पार्टी स्थापना भएको करिब चार वर्षपछि आयोजित महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह ले संयुक्त रूपमा घण्टी बजाएर गरेका हुन्।

महाधिवेशनमा देशभरबाट आएका ४ हजार २ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको छ। शुभकामना मन्तव्यका लागि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गगन थापा, वर्षमान पुन, प्रदीप ज्ञवाली, उपेन्द्र यादव, सीके राउत तथा राजेन्द्र लिङ्देन लगायतका नेताहरू महाधिवेशनस्थल पुगेका छन्।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले पार्टीको आगामी राजनीतिक दिशा, नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ। रास्वपाले महाधिवेशनलाई संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।