काठमाडौँ।
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिवद्धता र शैक्षिक सुधारको महत्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका छन् ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने क्रममा उनले यस्ताे व्याख्या गरेका हुन् । नतिजा प्रकाशनमा गरिएको तदारुकताले समग्र शैक्षिक क्यालेन्डरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । मन्त्री पोखरेलले यस वर्ष कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्रै सार्वजनिक गर्न सफल भएको दावी गरेका छन् ।
विगतमा नतिजा सार्वजनिक गर्न तीन महिना भन्दा बढी समय लाग्ने गरेकोमा यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै छोटो अवधिमै काम सम्पन्न गरिएको मन्त्री पोखरेलको जिकिर थियाे। नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना, कक्षा सञ्चालन र परीक्षासमेत पछाडि धकेलिने गरेको स्मरण गरेका छन् ।
अब विश्वविद्यालयहरूलाई पनि समयमै परीक्षा लिन र नतिजा प्रकाशन गर्न यसले प्रेरित गर्ने उल्लेख गरे । त्रिभूवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्य तालिका अगाडि नै शुरु गर्ने तयारी गरिसकेको उनले बताएका छन् ।
परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै मन्त्री पोखरेलले नतिजालाई जीवनको एउटा खण्डका रूपमा मात्र लिन र सोचेजस्तो नतिजा नआएका विद्यार्थीलाई विचलित नहुन आग्रह गरे । उनले पूरक परीक्षाको तयारीमा जुट्न हौसला दिँदै आगामी शैक्षिक यात्राका लागि नेपालकै विश्वविद्यालयहरूमा पर्याप्त तयारी र अवसरहरू उपलब्ध रहेको बताएका छन्।
सरकारले विद्यार्थीको अमूल्य समय खेर जान नदिन र शैक्षिक निकायहरूको कार्यक्षमता अभिवृद्धि गर्न आगामी दिनमा पनि यस्तै कार्यदक्षता प्रदर्शन गर्ने प्रतिवद्धता जनाएको छ ।











प्रतिक्रिया