निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान जारी : गृहमन्त्री गुरुङ


काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सूक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा गृह मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले उक्त प्रकरणप्रति मन्त्रालय संवेदनशील रहेको र अनुसन्धान निरन्तर अघि बढिरहेको स्पष्ट पारे।

उनले अनुसन्धानका केही प्रक्रिया गोप्य राख्नुपर्ने भएकाले सबै विवरण सार्वजनिक गर्न नसकिने उल्लेख गर्दै नतिजा नआएसम्म धैर्य गर्नुपर्ने बताए।

विगतमा यस मुद्दालाई राजनीतिक रूपमा प्रयोग गरिएकोप्रति लक्षित गर्दै उनले एक बालिकाको हत्याजस्तो संवेदनशील विषयमा राजनीति हुनु दुःखद् भएको टिप्पणी गरे।

“निर्मला पन्तको विषयमा मन्त्रालय संवेदनशील छ। सम्बन्धित व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सूक्ष्म अनुसन्धान अघि बढाएका छौँ,” उनले संसदमा भने।

गृहमन्त्री गुरुङले दोषीलाई कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै अनुसन्धान निष्कर्षमा पुग्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।