काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी हुन्। प्रस्तुत बजेट चालु महिनाको तेस्रो साताभित्र पारित गर्ने तयारी गरिएको छ।

बजेटअनुसार सञ्चित कोषमार्फत २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ व्ययभार पर्नेछ भने अन्य बाह्य स्रोततर्फ ७५ करोड रुपैयाँ व्ययभार रहने अनुमान गरिएको छ।

कार्यवाहक प्रमुख डंगोलका अनुसार आगामी आर्थिक वर्षमा महानगरको आन्तरिक आय तथा बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ। त्यस्तै नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त, समानीकरण र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ। जनसहभागिताबाट १ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।

क्षेत्रगत रूपमा बजेट विनियोजन गर्दा आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ छुट्याइएको छ। सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी, पूर्वाधार विकास क्षेत्रले सबैभन्दा ठूलो हिस्सा पाएको छ। यस क्षेत्रमा कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको छ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ (८.५ प्रतिशत) छुट्याइएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ (१८.८ प्रतिशत) प्रस्ताव गरिएको छ।

उल्लेखनीय रूपमा, काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो। आगामी वर्षको बजेट त्यसको तुलनामा केही बढेको देखिएको छ।