‘खुट्टा भाँचिदिन्छु’ भन्ने आशय थिएन, काम गराउने दबाब मात्रै दिएको हो : मन्त्री लम्साल


काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएको भनिएको अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्।

बिहीबार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले आफ्नो अभिव्यक्तिको उद्देश्य कसैलाई धम्क्याउने नभई निर्माण कार्य समयमै सम्पन्न गराउने रहेको बताए।

उनले आफूले प्रयोग गरेको शब्दप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै वास्तविक आशय काममा ढिलाइ गर्ने पक्षलाई जिम्मेवार बनाउने रहेको स्पष्ट पारे। “मेरो उद्देश्य कसैलाई डर देखाउने होइन, काम अघि बढोस् भन्ने हो,” उनले भने।

छलफलका क्रममा ऐन महरले मन्त्रीको अभिव्यक्तिबारे जवाफ माग गरेका थिए। त्यसको प्रत्युत्तरमा लम्सालले ठेक्का सम्झौता रद्द हुँदा ठेकेदारलाई ठूलो आर्थिक नोक्सानी हुने भएकाले काम सम्पन्न गर्न दबाब दिनु आवश्यक रहेको धारणा राखे।

उनले बैंक ग्यारेन्टी जफत हुने तथा भविष्यका ठेक्कामा समेत असर पर्ने भएकाले ठेकेदारहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरिएको बताए। “हामीले दबाब दिएर भए पनि काम गराउन खोजेका हौँ, कसैलाई अपमानित गर्ने उद्देश्य छैन,” उनले भने।

मन्त्री लम्सालले गत जेठ ३१ गते नागढुंगा–मुग्लिन सडक खण्ड को निरीक्षणका क्रममा स्थानीयवासीले विद्युत् पोल नसारिँदा निर्माण कार्य प्रभावित भएको गुनासो गरेपछि विवादास्पद अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि संसद तथा राजनीतिक वृत्तमा त्यसको आलोचना भइरहेको छ।