स्याङ्जा । मनसुन सक्रिय भएसँगै धान रोपाइँको तयारी तीव्र बनेको बेला स्याङ्जा जिल्लामा रासायनिक मल, विशेष गरी युरियाको अभाव देखिन थालेको छ । धान रोपाइँ शुरु हुनै लाग्दा किसानले आवश्यक मात्रामा मल नपाएको गुनासो गर्न थालेका छन् भने सम्बन्धित निकायले माग अत्यधिक बढेका कारण आपूर्तिमा केही दबाब परेको स्वीकार गरेका छन् ।
पछिल्लो एक दशकयता जिल्लामा गहुँ खेती घट्दै जाँदा बर्खे धान र मकै खेतीको क्षेत्रफल विस्तार भएको छ । यससँगै युरिया मलको माग पनि उल्लेख्य रुपमा बढेको कृषि क्षेत्रका सरोकारवालाहरु बताउँछन् ।कृषि सामग्री कम्पनी लिमिटेड स्याङ्जाका कार्यालय प्रमुख खेमराज भुसालका अनुसार चालू आर्थिक वर्षको जेठ २५ गतेसम्म कम्पनीले ९ सय ६० मेट्रिक टन युरिया, ४ सय मेट्रिक टन डीएपी र ४० मेट्रिक टन पोटास बिक्री गरिसकेको छ ।
आर्थिक वर्ष समाप्त हुन अझै एक महिना बाँकी रहे पनि युरियाको बिक्री गतवर्षको तुलनामा बढी भइसकेको उहाँले जानकारी दिनुभयो । ‘युरियाको माग बढेको छ । दश महिनाको अवधिमै हामीले गतवर्षभन्दा बढी युरिया बिक्री गरिसकेका छौँ’, भुसालले भन्नुभयो, ‘हामीसँग अहिले डीएपी, पोटास र चुना मौज्दात रहे पनि युरिया भने सीमित मात्रामा बाँकी छ ।’
हाल कृषि सामग्री कम्पनीको स्याङ्जा कार्यालयमा युरिया २६ टन, पोटास २८ टन र चुना ४३ टन मौज्दात रहेको छ । डीएपी भने सकिएको कार्यालयले जनाएको छ । यद्यपि भुसालले जिल्लामा पूर्णरुपमा मल अभाव भएको अवस्था नरहेको दाबी गर्नुभयो । उहाँका अनुसार स्याङ्जामा आपूर्ति हुने मल भैरहवाबाट ल्याइने गरिएको छ ।
जिल्लागत तथा पालिकागत कोटाअनुसार मल वितरण हुने व्यवस्था रहेको छ । पालिकाहरुले नै रासायनिक मलको मूल्य निर्धारण गर्ने गरेका छन् । अघिल्ला वर्षहरुको तथ्याङ्कअनुसार स्याङ्जामा वार्षिक रुपमा करिब १ हजार टन युरिया, ५ सय टन डीएपी र ५० टन पोटास खपत हुने गरेको छ । जिल्लामा आवश्यक रासायनिक मलमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ कम्पनीले आपूर्ति गर्दै आएका छन् ।
उता साल्ट ट्रेडिङ कम्पनी लिमिटेड स्याङ्जाले पनि चालू आर्थिक वर्षमा उल्लेख्य मात्रामा युरिया बिक्री गरेको जनाएको छ । कार्यालय प्रमुख लालबहादुर शाहका अनुसार कम्पनीले हालसम्म ७ हजार ३ सय ७९ बोरा युरिया बिक्री गरिसकेको छ । उहाँका अनुसार यो वर्ष भीरकोट नगरपालिकाले ८ सय ८५ बोरा, चापाकोट नगरपालिकाले ७ सय ४० बोरा, फेदीखोला गाउँपालिकाले १ सय ५० बोरा, हरिनाश गाउँपालिकाले ३ सय ६९ बोरा, पुतलीबजार नगरपालिकाले १ सय ४० बोरा, वालिङ नगरपालिकाले ४ हजार २ सय ५ बोरा तथा कालीगण्डकी गाउँपालिकाले १ सय ५० बोरा युरिया लगिसकेका छन् ।
‘सम्बन्धित पालिकाको मागअनुसारको मल वितरण भइसकेको छ’, शाहले भन्नुभयो, ‘तर अहिले साल्ट ट्रेडिङमा युरिया मौज्दात छैन ।’ उहाँका अनुसार किसानहरुले पछिल्ला वर्षहरुमा युरियाको प्रयोग बढाउँदै लगेका छन् । हाल कम्पनीमा ८ सय बोरा डीएपी र १ सय बोरा पोटास मात्र मौज्दात रहेको उहाँको भनाइ छ ।
यद्यपि सरकारी निकायहरुले अभाव नरहेको दाबी गरिरहे पनि किसानहरु भने मल नपाएको भन्दै असन्तुष्ट छन् । भीरकोट नगरपालिका–५ का किसान कमलकान्त अर्यालले बयरघारीस्थित दहथुम बहुउद्देश्यीय सहकारीमा युरिया लिन जाँदा १० केजीभन्दा बढी नपाएको गुनासो गर्नुभयो । ‘खेतमा मल हाल्ने बेला भएको छ, तर आवश्यक मात्रामा मल पाइँदैन’, उहाँले भन्नुभयो, ‘यति थोरै मलले खेती गर्न गाह्रो हुन्छ ।’
दहथुम बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर अधिकारीका अनुसार संस्थामा युरिया मल सकिइसकेको छ । ‘माग धेरै छ, आपूर्ति कम छ’, उहाँले भन्नुभयो, ‘५० बोरा मल ल्याएका थियौँ, ल्याएको केही समयमै सकियो ।’ कृषि सामग्री कम्पनीबाट मागअनुसार मल प्राप्त हुन नसक्दा आएको सीमित मल दामासाहीका आधारमा वितरण गर्नुपरेको उहाँको भनाइ छ । अधिकारीले भन्नुभयो, ‘हामीले आएको मल सबै किसानलाई बराबरी रुपमा बाँडिरहेका छौँ । थप मल उपलब्ध गराउने अधिकार हाम्रो हातमा छैन ।’
मल बिक्री वितरण गर्ने सहकारी संस्थाहरुले अर्को समस्या पनि औँल्याएका छन् । उनीहरुका अनुसार पालिकाबाट समयमै मूल्य निर्धारण तथा मूल्य समायोजन नहुँदा वितरण प्रक्रियामा समस्या आउने गरेको छ । किसान महासंघ भीरकोटका अध्यक्ष विमल केसीले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गरे पनि किसानका आधारभूत आवश्यकता पूरा गर्न नसकेको टिप्पणी गर्नुभयो ।
‘सरकारले बीउमा अनुदान दिन्छ तर मल र सिँचाइको व्यवस्था गर्न सक्दैन’, उहाँले भन्नुभयो, ‘धान खेती गर्ने मुख्य समयमा पनि मलको हाहाकार हुनु दुःखद हो ।’केसीले कृषिमा बढ्दो अर्धयान्त्रीकीकरणका कारण परम्परागत पशुपालन घट्दै गएको र त्यसको प्रत्यक्ष असर प्रांगारिक मल उत्पादनमा परेको बताउनुभयो । ‘पहिला तीन–चार हल गोरु पालिन्थ्यो । गोबर मल पर्याप्त हुन्थ्यो । अहिले गोरु छैनन्, गोबर मल पनि छैन’, केसीले भन्नुभयो, ‘बीउ दिन सक्ने सरकारले मल दिन सक्दैन भने कृषिमा परनिर्भरता कसरी अन्त्य हुन्छ ?’
तर जिल्लाका सबै क्षेत्रमा समान अवस्था भने छैन । केही सहकारी संस्थाहरुले आफूहरुसँग केही मात्रामा मल मौज्दात रहेको बताएका छन् । भीरकोटकै साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तुलसी अर्यालले आफ्नो संस्थामा आवश्यक मात्रामा मल उपलब्ध रहेको बताउनुभयो । उहाँले मल अभावको अवस्था नरहेको दाबी गर्नुभयो । अर्का किसान दामोदर तिवारीले पनि जिल्लाभर व्यापक अभाव भएको जस्तो आफूलाई नलागेको बताउनुहुन्छ । उहाँका अनुसार कतिपय स्थानमा वितरण व्यवस्थापनको समस्या भए पनि नपाइने अवस्था भने भइसकेको छैन । अब भने अभाव हुन सक्छ ।
भीरकोट नगरपालिकाका कृषि शाखा प्रमुख श्रवणकुमार विष्टले पालिकाले माग गरेअनुसार मल आपूर्तिका लागि सिफारिस गरिरहेको बताउनुभयो । ‘हालसम्म किसानका तर्फबाट औपचारिक रुपमा ठूलो गुनासो आएको छैन’, उहाँले भन्नुभयो, ‘कतिपय स्थानमा छिटफुट अभाव देखिए पनि समग्रमा व्यवस्थापन भइरहेको छ ।’ धान रोपाइँको मुख्य सिजन नजिकिँदै जाँदा युरिया मलको आपूर्ति थप सहज बनाउन सम्बन्धित निकायले पहल नगरे किसानहरु थप समस्यामा पर्ने देखिएको छ । कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको लक्ष्य पूरा गर्न समयमै पर्याप्त मल उपलब्ध गराउनु सरकार र आपूर्ति निकायका लागि चुनौतीपूर्ण विषय बनेको छ ।











प्रतिक्रिया