आज कोशी र बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

देशभर मनसुनीसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्यपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले वर्षासँगै चट्याङ र भारी वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।