लय समातेको बालेन्द्र सरकार र अत्तालिएको विपक्षी

0
Shares

कुनै पनि सरकारको सधैँ आलोचना मात्र गर्नुपर्छ भन्ने हुँदैन । सरकारको गुण र दोषको आधारमा मूल्यांकन गरेर त्यसको समर्थन र विरोध गर्नुपर्ने हुन्छ । बालेन्द्र नेतृत्वको सरकार गठन भएको करिब तीन महिना पनि बितेको छैन । उसले निर्वाचनमा आफू र आफ्नो पार्टीले गरेको बाचा एवं प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ कार्य गरिरहेको छ । तर एक सय दिन पनि पूरा नगरेको सरकारलाई असफल बनाउन विभिन्न कोणबाट अनेक प्रपञ्च रच्ने कार्य भइरहेको देखिन्छ, जसबाट जनताको सुशासनप्रतिको चाहनालाई अझै समाप्त पार्ने खेल भइरहेको प्रस्ट हुन्छ ।

विपक्षीहरु संसद्मा विपक्षीको रुपमा भन्दा विरोधीको रुपमा प्रस्तुत भइरहेका देखिन्छन् । विपक्षीहरु संसद् शुरु नहुँदै शुरुको दिनदेखि नै विभिन्न बहानामा लगातार संसद् अवरोध गरेर मुलुकलाई असफल बनाउन उद्यत भइरहेका झैँ देखिन्छन् । केही दिनअघिसम्म प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा आएर बोलेनन् भनी विरोध गर्ने विपक्षीहरु, प्रधानमन्त्रीले संसद्मा बोलेपछि किन यस्तो बोलेको भनेर फेरि विरोध गर्ने गरेको देखिन्छ । समाजमा एकखाले हुन्छन्, जसले दोस्रो व्यक्तिले जे गरे पनि आलोचना मात्र गरिरहने गर्छन् ।

अर्थात् कुनै व्यक्तिले राति बत्ती बालेर सुत्यो भने, आज किन बत्ती ननिभाएको, मिटर घुम्दैन ? भनेर गाली गर्ने अनि भोलिपल्ट बत्ती निभाएर सुत्यो भने किन बत्ती निभाएको, अँध्यारो बनाएर चोर छिराउन खोजेको हो ? भनेर चिच्याउने गर्छन् । हामीले देख्छौं, कैयौँ घरमा आफ्नो बच्चाले पेटभरि खाना खायो भने पनि कस्तो खन्चुवा रहेछ भनी गाली गर्ने र भोलिपल्ट अघिल्लो दिनको गाली सम्झेर कम खाना खायो भने त्यही व्यक्तिले रोगी भएर मलाई सताउन खोजेको ? भनी गाली गर्ने गरेको । कैयौँ मानिसको स्वभाव नै हुन्छ, अरुले जे गरे पनि आलोचना नै गर्ने । राम्रो त देख्दै नदेख्ने । अहिलेको प्रतिपक्षीहरुको स्वभाव पनि यस्तै–यस्तै देखिएको छ ।

हिजो आफू सत्तामा छँदा सुधार गर्नुपर्ने कैयौँ विषयहरुमा कुनै ध्यान नै नदिने । व्यक्तिगत स्वार्थका लागि अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई समेत धमिलो बनाउन उद्यत रहने । आज नयाँ सरकारलाई सबै समस्या तत्काल समाधान गर्नुप¥यो, होइन भने राम्रो हुनेछैन भनेर धम्की दिनेजस्ता संस्कारको कारण त्यस्ता राजनीतिक दलहरुको भविष्य देखेर नागरिकहरु आजित भइरहेका छन् ।

३५ वर्षमा आफूले गर्न नसकेको कार्य ३५ दिनमा हुनुप¥यो भनेर आवाज उठाउनेहरुले नै आज मुलुकमा राजनीतिक अस्थिरता मच्चाउन उपायहरु खोजिरहेका त छैनन् भन्ने कुरामा जनता सशंकित भइरहेका छन् । प्रधानमन्त्रीले सीमा विवाद समाधानको लागि आवश्यक पर्दा चीन र बेलायतसमेतको उपस्थिति आवश्यक छ भन्ने ओजपूर्ण अभिव्यक्तिलाई किनारामा राखेर हुनसक्छ हामीले पनि सीमा मिचेका छौँ कि भन्ने कुरालाई मात्र प्राथमिकतामा राखेर तथ्यलाई आफू अनुकूल व्याख्या गर्न खोजिएको राजनीतिक प्रवृत्तिले विपक्षीलाई अझ खाडलतर्फ धकेल्ने निश्चित छ ।

गत निर्वाचनमा नेपाली जनताले रास्वपालाई भारी मतले विजय गराए । रास्वपालाई मत दिनु भनेको पुराना राजनीतिक दलहरुप्रति जनतामा विश्वास ह्रास हुन पुगेको भन्ने नै हो । जनताले विश्वास गरी लामो समय पुराना राजनीतिक दलहरुलाई आँखा चिम्लिएर साथ दिएकै थिए । पटक–पटक धोखा पाउँदा पनि आफ्ना प्रतिनिधिहरु हुन्, एकदिन अवश्य सच्चिने छन् भन्ने कुरामा जनता विश्वस्त थिए ।

जनताले भनेका थिए कि सच्चिऊ, होइन भने सक्किने छौ । सच्चिने कुनै छाँट नदेखिएकोले जनताले गत निर्वाचनमा नराम्रोसँग तिरष्कार गरिदिए । यसरी जनताबाट तिरष्कृत हुँदा पनि आजसम्म उनीहरुमा चेत पलाएको देखिएको छैन, उनीहरु के निहुँ पाऊँ र अस्थिरताको बीज रोपौं भन्नेमा नै रहेका देखिन्छन् । उनीहरुले जनताले रास्वपालाई प्रतिनिधिसभाको निर्वाचनमा करिव दुई तिहाइको सिट पुग्ने गरेर मत दिए, सरकार बालेन्द्र साहको नेतृत्वमा नै बन्नुपर्दछ भनेर स्पष्ट जनादेश दिए भन्ने कुरालाई स्वीकार्नै सकिरहेका छैनन् ।

उनीहरु वर्तमान सरकारको अस्तित्वलाई मान्यता दिने पक्षमा अझै देखिँदैनन् । सरकारले सुशासनको लागि चालेको अभियानमा साथ दिन कैयौँ नेता कुनै हालतमा राजी हुनेछैनौं भनी लल्कारका स्वरहरु गुन्जाइरहेका छन् । जनताले तीन महिनाअघि दिएको जनादेशलाई १०० दिन पनि सहन नसक्ने राजनीतिक शक्तिहरुलाई भोलिका दिनमा जनताले अझ कहाँ पु¥याउने हुन् ? चिन्ताको विषय बनिरहेको छ ।

लोकतन्त्रमा सक्षम प्रतिपक्ष हुनुपर्दछ । प्रतिपक्ष कमजोर भयो भने लोकतन्त्र धरापमा पर्दछ । अवस्था प्रतिकूल हुन पुग्यो भने निरंकुशतावादले खुट्टा घुमाउन पनि थाल्छ । निरंकुशताले खुट्टा घुमायो भने जनताका अधिकारहरु क्रमशः कमजोर हुँदै जान्छन् । तसर्थ सचेत जनता सधैँ सक्षम प्रतिपक्षको पक्षमा पनि हुने गर्दछन् । तर प्रतिपक्षले मुलुक र जनताको पक्षमा भन्दा कुण्ठा र अस्थिरताको घेराभित्र आफूलाई सीमित राख्न पुग्यो भने अर्थात् प्रतिपक्षले आफ्नो धर्म बिर्सियो भने प्रतिपक्ष थप कमजोर हुन पुग्छ ।

अहिलेको प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको भूमिका आफ्नो अस्तित्व रक्षाको लागि विभिन्न नाटक रच्नमा नै व्यस्त भएको झैँ देखिन्छ । रचनात्मक प्रतिपक्ष बन्नु र कुण्ठाले भरिएको विरोधी बन्नुमा ठूलो भिन्नता हुन्छ । हेर्दा दुवैले खबरदारी गरिरहेको झैँ देखिन्छ तर मूल मर्म भिन्न हुन्छ । त्यस्ता खबरदारी वा विरोधहरुलाई आजका सचेत नागरिकहरुले राम्रोसँग नियालिरहेका हुन्छन् ।

आजभोलि एकथरी सरकारको भविष्यलाई लिएर मनको लड्डु खाइरहेका पनि देखिन्छन् । पार्टी सभापति र प्रधानमन्त्रीबीचमा तालमेल छैन, जुनसुकै बेला रवि लामिछानेले बालेन्द्र साहलाई हटाउन सक्छन् भन्ने सपनाहरु देखिरहेका पाइन्छन् । निकट स्रोतहरुसँगको कुराकानीको आधारमा के बुझ्न सकिन्छ भने, प्रधानमन्त्रीले गर्ने प्रत्येक महत्वपूर्ण राजनीतिक निर्णय पार्टी सभापतिसँगको सल्लाह र परामर्शमा मात्र हुने गरिरहेको छ । प्रधानमन्त्रीले पनि रवि लामिछानेलाई सफल पार्टी सभापतिको रुपमा उभ्याउनको लागि आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गरिरहनुभएको छ ।

यी दुईको जोडी र सम्बन्धमा कुनै धमिलो छैन । कसैले धमिलो पार्ने प्रयास ग¥यो भने त्यो सम्भव हुनेवाला पनि छैन । रास्वपाका अन्य नेताहरु पनि त्यस्तो अवस्था आउन नदिन कुशलतापूर्वक अघि बढिरहेका पाइन्छन् । यो मुलुकको लागि राम्रो सन्देश हो । हिजोका दिनसम्म ठूला भनिएका राजनीतिक दलहरुभित्र मौलाएको गुट–उपगुटका कारण उनीहरुको पतन भएको थियो । पार्टीभित्र गुट प्रवृत्ति जन्मियो भने बाहिरी शक्तिले कुनै षड्यन्त्र गर्नुपर्दैन, उनीहरु आफैं यदुवंशीझैँ समाप्त भएर जान्छन् । यो कुराको ज्ञान रवि र बालेन्द्र दुवैलाई भएको कारण उनीहरुले आवश्यक पर्दा त्याग र सदासयताको उदाहरण प्रस्तुत गर्न सकिरहेका छन् ।

हामीले हिजोका दिनसम्म पुराना राजनीतिक दलहरुभित्र घात, अन्तर्घात र प्रतिघातहरु धेरै देख्यौं । आफूले आफूलाई समाप्त पार्न खेलेका खेलहरु थुप्रै भोग्यौं । परिवर्तनका विभिन्न शृङ्खलाहरुपश्चात् मुलुकले अब त लय समात्ला भनेर सपना देख्ने नेपाली जनता ती नेताहरुको व्यवहारले सधैँ निराश हुनुपरेका घटना थुप्रै झेल्यौं ।

हिजोको राजनीतिक प्रवृत्ति देखेका हामीले आज पनि कतै त्यस्तै त भइरहेको छैन ? भनेर सोच्न बाध्य भइरहेका छौं । शंका लाग्नु स्वाभाविक नै हो । साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भनेझैँ सधैँ राजनीतिक दलहरुबाट धोखा पाएका नेपाली जनताले आज पनि धोखा पाउने त होइनौँ ? भनेर सोच्न बाध्य भएका छौं । तर आजको अवस्था भिन्न छ ।

रास्वपा भर्खर जन्मिएको पार्टी हो । करिब ४८ महिनाअघि मात्र जन्मिएको यो पार्टीमा रहेका जिम्मेवार नेताहरुको पृष्ठभूमि राजनीति थिएन । विभिन्न पेसा–व्यवसाय छाडेर मुलुकको मुहार फेर्ने संकल्पका साथ अधिकांश युवाहरु रास्वपाको राजनीतिमा आएका छन् । यसकारण रास्वपामा पुराना नेताहरुको जस्तो राजनीतिक परिपक्वता पक्कै कमी छ तर केही गर्छु भन्ने हुटहुटी भने तीव्र छ ।

रास्वपाको वर्तमान अवस्थालाई नियाल्दा यसमा भ्रष्टाचार होइन सुशासन, बेइमानी होइन इमान, गुट होइन एकता, गैरजिम्मेवार होइन कर्तव्यनिष्ठ संस्कारसहित अघि बढिरहेको र जनताप्रति उत्तरदायी रहेको गुणहरु प्रशस्त भेटिन्छन् । जनताले दिएको मत र विश्वासलाई कुनै पनि हालतमा दुरुपयोग गर्दैनौं र जनतालाई पश्चात्ताप गर्नुपर्ने अवस्थामा कहिल्यै पु¥याउने छौनौं भन्ने रास्वपा नेताहरुको प्रण रहेको देखिन्छ ।

यो प्रण र अठोटले उनीहरुलाई जनताको सामु बाचापत्र प्रस्तुत गराउन लगायो, यो प्रणले उनीहरुलाई १०० दिनको लागि १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यक्रम घोषणा गर्न प्रेरित गरायो, यही जिम्मेवारीबोधका कारण अन्य दलका घोषणापत्रहरुलाई समेत समेटेर राष्ट्रिय प्रतिबद्धता जाहेर गर्नको लागि आफूलाई उदार बनायो । हिजोसम्म अस्तित्व स्वीकार गर्न नचाहने छिमेकी भारतले रास्वपा सभापतिलाई गरेको अभूतपूर्व स्वागत मात्र होइन, उदयीमान शक्तिको रुपमा उदाएको रास्वपामा अन्य दलका जस्ता पनि व्यक्तिको प्रवेशलाई हेर्दा रास्वपाले चाल्ने प्रत्येक कदम संयमित र सावधानीपूर्ण हुनुपर्दछ । हुन त नदी स्वच्छ छ भने कुलोबाट मिसिने जस्तोसुकै दूषित पानी पनि सङ्लिन बाध्य हुनुपर्छ ।

मुलुकमा राजनीतिक स्थिरता छाओस् भनेर जनताले रास्वपालाई करिब दुई तिहाइको मत दिएका हुन् । कम्तीमा अबको पाँच वर्ष बालेन्द्र साहको नेतृत्वमा स्थिर सरकार बनिरहोस् भन्ने जनताको भावनालाई अन्य दलले स्वीकार्नै पर्दछ । स्थिरताको लागि जनताले दिएको मतलाई अपमान गर्दै अझै अस्थिरताको लागि कुनै शक्ति वा पक्ष अघि आयो भने त्यसलाई आगामी प्रदेश तथा स्थानीय निर्वाचनमा जनताले बढारेर डस्टबिनमा फाल्नेछन् । यस्ता कुराको हेक्का राख्नै पर्दछ । नेपाली जनता लोकतन्त्रका पक्षधर हुन् ।

उनीहरु सक्षम प्रतिपक्ष हुनुपर्दछ भन्ने पक्षमा छन् । तर प्रतिपक्षले जनताको स्थिरताको चाहनालाई बेवास्ता गरेर स्वार्थपूर्ण राजनीति गर्न खोजिरहन्छन् भने प्रतिपक्षविहीन प्रदेश र स्थानीय तह निर्माण गराउन आफ्नो मत जाहेर नगर्लान् भनी भन्न सकिन्न । तसर्थ यो समय हिजोका ठूला दल अर्थात् इतिहास बोकेका राजनीतिक दलहरुले संयम कायम राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला हो ।

देशको भूगोलको रक्षाको बारेमा आवश्यक पर्दा नेपाली जनता आफ्नो रगत बगाउन जहिल्यै तयार हुनेछन् तर भूगोलको नाममा नक्कली राष्ट्रवाद प्रदर्शन गरेर भ्रमको राजनीति गर्न खोज्दा जनताले विश्वास गर्ने छैनन् । जनताले इतिहास बोकेका भनिएका राजनीतिक दलहरुको हिजोको लम्पसारवाद अझै भुलेका छैनन् ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)